काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नाफामा यस आर्थिक वर्षको नौ महिनामा सामान्य गिरावट देखिएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ८ करोड १६ लाख २१ हजार रुपैयाँ पुगेको छ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.२३ प्रतिशतले कमी हो। गत वर्ष बैंकले २ अर्ब १३ करोड ३७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.३३ प्रतिशतले घटेर ५ अर्ब ४९ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। तर, बैंकको फि तथा कमिसन आम्दानीमा भने सकारात्मक वृद्धि देखिएको छ। यो आम्दानी ५.४१ प्रतिशतले बढ्दै १ अर्ब १० करोड २ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफा भने २ अर्ब ९७ करोड १४ लाख रुपैयाँ कायम भएको छ। वितरणयोग्य नाफा १ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकले १७.६९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ।
बैंकको चुक्ता पुँजी १० अर्ब २ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ५५ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। वित्तीय स्वास्थ्यको दृष्टिले बैंकको खराब कर्जा सुधार भएर ०.८१ प्रतिशतमा झरेको छ, जुन गत वर्ष १.४४ प्रतिशत थियो।
यससँगै बैंकको प्रति शेयर आम्दानी २७.६४ रुपैयाँ र प्रति शेयर नेटवर्थ १८८.५९ रुपैयाँ कायम भएको छ। समग्रमा नाफामा सामान्य कमी भए पनि बैंकको वित्तीय आधार र जोखिम व्यवस्थापनमा सुधार देखिएको छ।
