ज्योत्सना श्रेष्ठ नेतृत्व समूहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो टोली घोषणा

काठमाडौँ । ज्योत्सना श्रेष्ठ नेतृत्वको समूहले नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो औपचारिक टोली घोषणा गरेसँगै महासंघको चुनावी माहोल थप तातिएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल को स्पष्ट समर्थनसहित मैदानमा उत्रिएको यो समूहलाई निजी क्षेत्रभित्र बलियो, समन्वयकारी र परिणाममुखी समूहका रूपमा हेरिन थालेको छ।

निजी क्षेत्र अहिले आर्थिक मन्दी, बजार संकुचन, लगानीको असुरक्षा र नीतिगत अन्योलका बीच कठिन मोडमा उभिएको अवस्थामा महासंघको नेतृत्व केवल पदको विषय नभई व्यवसायिक अस्तित्व र भविष्यको दिशासँग जोडिएको विषय बनेको छ। यही सन्दर्भमा ज्योत्सना श्रेष्ठले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत प्रतिस्पर्धा नभई निजी क्षेत्रको आवाज सशक्त बनाउने अभियानका रूपमा अघि सारेकी छन्।

उनले स्पष्ट रूपमा उठाएको मुख्य एजेन्डा—सरकार र निजी क्षेत्रबीचको सहकार्य, व्यवसायीमाथि विश्वासको वातावरण निर्माण, नीतिगत सुधार र लगानी सुरक्षाको सुनिश्चितता—यतिबेला व्यवसायिक समुदायको साझा मुद्दा बनेको छ।

श्रेष्ठले कार्यक्रममा दिएको सन्देश केवल चुनावी प्रतिबद्धता मात्र थिएन, त्यो निजी क्षेत्रको पीडा र अपेक्षाको प्रतिबिम्ब पनि थियो। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशतभन्दा बढी, रोजगारीमा ८६ प्रतिशत र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई अझै पनि शंकाको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको स्पष्ट धारणा थियो।

विशेषगरी पछिल्लो समय केही व्यवसायी पक्राउ परेका घटनाप्रति उनले उठाएको प्रश्नले निजी क्षेत्रको गहिरो मनोविज्ञान उजागर गरेको देखिन्छ। व्यवसायीलाई आरोपका आधारमा मात्र थुन्ने प्रवृत्तिले लगानीको वातावरण बिगार्ने, आत्मविश्वास कमजोर बनाउने र समग्र अर्थतन्त्रलाई असर गर्ने उनको भनाइले कार्यक्रममा उपस्थित व्यवसायीहरूबाट उल्लेखनीय समर्थन पाएको देखिएको थियो।

उनको स्पष्ट भनाइ थियो—कानुनी अनुसन्धान होस्, प्रमाणका आधारमा कारबाही होस्, तर व्यवसायीलाई अपराधीको रूपमा व्यवहार गरेर मुलुकको आर्थिक चक्रलाई कमजोर बनाउनु हुँदैन।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको खुला समर्थनले यो समूहको चुनावी शक्ति अझ बलियो बनाएको राजनीतिक तथा व्यवसायिक वृत्तको विश्लेषण छ। निजी क्षेत्रको वर्तमान चुनौतीलाई नजिकबाट बुझेका ढकालले ज्योत्सना श्रेष्ठ नेतृत्वको टोलीले महासंघका अधुरा कामलाई पूर्णता दिने विश्वास व्यक्त गर्नु स्वयं ठूलो सन्देशका रूपमा हेरिएको छ।

यो समूहको विशेषता भनेको अनुभव र युवाशक्तिको सन्तुलित संयोजन हो। महासंघभित्र लामो समयदेखि सक्रिय, नीति निर्माण र व्यवसायिक आन्दोलनमा खारिएका अनुभवी व्यक्तिहरूसँगै नयाँ पुस्ताका ऊर्जाशील अनुहारको समावेशले समूहलाई थप गतिशील बनाएको छ।

पूर्वकोषाध्यक्ष शशिकान्त अग्रवाल ले यो समूहलाई पुरानो अनुभव र नयाँ सोचको उत्कृष्ट संयोजन बताएका छन् भने पूर्वकोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठ तथा महासंघका पूर्वअध्यक्ष चाडीराज ढकाल लगायतका अनुभवी नेतृत्वको समर्थनले यो समूहको विश्वसनीयता थप बलियो बनाएको देखिन्छ।

विशेषतः महिला उद्यमशीलताको प्रतिनिधित्व, युवा व्यवसायीको सहभागिता र समावेशी नेतृत्व संरचनाले पनि यो समूहलाई फरक बनाएको छ। सदस्यमा शोभा ज्ञवाली र जमुना पौडेलजस्ता महिला व्यवसायीको सहभागिताले महिला नेतृत्वको सशक्त उपस्थिति देखाएको छ।

व्यवसायिक समुदायमा भइरहेको आन्तरिक छलफल हेर्दा ज्योत्सना श्रेष्ठ समूहलाई “नीतिगत लडाइँ लड्न सक्ने”, “सरकारसँग संवाद गर्न सक्ने” र “व्यवसायीको पक्षमा स्पष्ट उभिन सक्ने” समूहका रूपमा हेरिएको देखिन्छ।

विश्लेषकहरूका अनुसार यो निर्वाचन केवल महासंघको नेतृत्व चयन मात्र होइन, निजी क्षेत्रको भावी रणनीति, सरकारसँगको सम्बन्ध र व्यवसायिक वातावरणको दिशानिर्धारण गर्ने निर्णायक मोड पनि हो।

यही कारण, ज्योत्सना श्रेष्ठको समूहलाई अहिले महासंघको चुनावी प्रतिस्पर्धामा बलियो दाबेदारका रूपमा हेरिएको छ। अध्यक्ष ढकालको समर्थन, अनुभवी नेतृत्वको साथ, व्यवसायीको विश्वास र स्पष्ट एजेन्डाको आधारमा यो समूहले जितको बलियो आधार तयार गरेको आकलन व्यवसायिक वृत्तमा बढ्दो छ।

ज्योत्सना समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्दु बस्नेत (अजित), ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, राम राजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमिल्सिना, शैलेन्द्र गुरागाँइ, सुनीलनारायण श्रेष्ठ, सचिन ढकाल, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), चुनावी मैदानमा छन्

अब हेर्न बाँकी छ—महासंघको आगामी निर्वाचनले निजी क्षेत्रको नेतृत्वमा निरन्तरता रोज्छ कि नयाँ ऊर्जा र स्पष्ट एजेन्डालाई जिम्मेवारी सुम्पिन्छ।