काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको सुविधा र हितलाई मध्यनजर गर्दै तीनधारास्थित केन्द्रीय कार्यालयमा ‘नर्सिङ कक्ष’ सञ्चालनमा ल्याएको छ। बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समिति सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर कक्षको उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा सञ्चालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला, अनिल केशरी शाह, नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायत उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कर्मचारीमैत्री कार्य वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त नर्सिङ कक्षले विशेषगरी कर्मचारी आमाहरूलाई कार्यालय समयमा आफ्ना शिशुलाई स्तनपान गराउन सहज, सुरक्षित र मर्यादित वातावरण प्रदान गर्ने बैंकको विश्वास रहेको छ।
कार्यक्रममा बोल्दै सञ्चालक समिति सदस्य सरिता भट्ट अधिकारीले नर्सिङ कक्षको स्थापना कर्मचारीप्रतिको जिम्मेवारी पूरा गर्ने महत्वपूर्ण कदम भएको बताइन्। उनले यसले कर्मचारी आमाहरूलाई कार्यालयमै आफ्नो शिशुसँग सुरक्षित महसुस गराउने वातावरण सिर्जना गर्ने उल्लेख गरिन्।
त्यस्तै, अध्यक्ष निर्वाण चौधरीले यस्तो पहल बैंकका मूल्यमान्यता अनुरूप भएको बताउँदै लैङ्गिक समानता र कर्मचारी हितलाई प्राथमिकतामा राखिएको बताए। उनले सानो देखिने भए पनि यस कदमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै भविष्यमा अन्य शाखाहरूमा पनि विस्तार गरिने जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पनि यस्ता प्रयासले कर्मचारीप्रति सहयोगी र संवेदनशील कार्यसंस्कृति विकास गर्न मद्दत पुग्ने बताए।
हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। करिब २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय बैंकले दिगो बैंकिङ र डिजिटल सेवामा जोड दिँदै एनबैंकमार्फत सेवा विस्तार गरिरहेको जनाएको छ।
