प्रल्हाद दाहालको सन्देश-‘मत केवल अधिकार होइन, भविष्य लेख्ने जिम्मेवारी हो’

pralhad dahal प्रल्हाद दाहाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा निजी क्षेत्रभित्र चुनावी माहोल तीव्र बन्दै गएको छ। यही सन्दर्भमा प्रल्हाद दाहाल ले सम्पूर्ण उम्मेदवार र मतदातालाई लक्षित गर्दै जिम्मेवार, पारदर्शी र दूरदर्शी नेतृत्व चयनको पक्षमा एक गहिरो सन्देश प्रवाह गरेका छन्।

नेपाल डेरी एसोसिएसन का केन्द्रीय अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका बोर्ड सदस्यसमेत रहेका दाहालले महासंघको निर्वाचनला ई केवल पद प्राप्तिको प्रतिस्पर्धा नभई निजी क्षेत्रको भविष्य निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। निजी क्षेत्रको नेतृत्व केवल व्यवसायिक प्रतिनिधित्वमा सीमित नभई राष्ट्रिय आर्थिक दिशा निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको उल्लेख गर्दै उनले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।

दाहालले सकारात्मक सोच, सत्कर्म र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याउँदै कवितात्मक शैलीमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार महासंघको नेतृत्वमा पुग्ने व्यक्ति केवल पदाधिकारी होइन, निजी क्षेत्रको आवाज, उद्योगी–व्यवसायीको भरोसा र मुलुकको आर्थिक गतिशीलताको संवाहक हुनुपर्छ। उनले मतदातालाई आग्रह गर्दै भनेका छन्—नेतृत्व चयन गर्दा सम्बन्ध, प्रभाव वा भावनामा होइन, विचार, कार्यक्षमता, पारदर्शिता र उत्तरदायित्वमा केन्द्रित हुनुपर्छ।

विशेषगरी निजी क्षेत्र अहिले आर्थिक मन्दी, लगानी असुरक्षा, बजार सुस्तता र नीतिगत अन्योलका चुनौतीसँग जुधिरहेको अवस्थामा महासंघको नेतृत्व थप जिम्मेवार, व्यावहारिक र परिणाममुखी हुनुपर्ने आवाज बलियो बन्दै गएको छ।

उनले सार्वजनिक गरेको कवितात्मक सन्देश

“एक मतको कथा, निजी क्षेत्रमा भोलिको दिशा”

मत हाम्रो अधिकार हो, निर्णय हाम्रो जिम्मेवारी,
आजको सोच र छनोटले बन्छ भोलिको तयारी,
यो केवल एक दिनको काम होइन, गहिरो अर्थ बोकेको,
हामीले रोज्ने बाटोले लेख्छ भोलि उज्यालो या अँध्यारो।

हामी मतदाता हौं, विश्वास दिन्छौं सोचेर,
जिम्मेवारी खोज्छौं, सत्यताको नाप तोकेर,
अन्धो समर्थन होइन, सचेत निर्णय रोज्छौं,
उत्तरदायी नेतृत्वलाई मनदेखि नै रोजेर।

व्यक्ति होइन, विचार र कामको मूल्य हेर्छौं,
शब्द होइन, व्यवहारमा साँचो पन भेट्छौं,
आश्वासनका रंगीन सपना होइन हाम्रो रोजाइ,
परिणाममा देखिने सत्यलाई नै हामी समेट्छौं।

अहंकार होइन, सेवाभावको चाहना राख्छौं,
कुरा होइन, कर्ममै विश्वासको दीप बाल्छौं,
समर्पण र इमानमा अडिएको नेतृत्व खोज्छौं,
जहाँ सत्यताको बाटोमा सबैलाई साथ दिन्छौं।

मत हाम्रो अधिकार हो, सही निर्णय कर्तव्य,
सजग भई रोज्नु नै हाम्रो ठूलो उत्तरदायित्व,
आजको एक सचेत छनोटले भविष्य कोर्छ,
भोलिको दिशा तय गर्ने यही नै हाम्रो कर्तव्य।

विकास, पारदर्शिता र प्रतिबद्धता आधार,
यिनै हुन् हाम्रो रोजाइका सशक्त मापदण्ड सार,
हाम्रो मत केवल संकेत होइन, परिवर्तनको स्वर हो,
नयाँ सोच र सम्भावनाको यो बलियो उद्घोष हो।

आउनुहोस्, सजग बनौं, आफ्नो मतको मूल्य चिनौं,
सत्यता र सेवाभावमा अडिएको बाटो रोजौं,
उत्तरदायित्व बोकेको नेतृत्व अघि बढाऔं,
निजी क्षेत्रको भविष्य आफैं लेख्ने साहस आजै गरौं।

नेतृत्व केवल जितको विषय होइन, विश्वासको जिम्मेवारी हो।