नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक साधारणसभा एबम आसन्न निर्वाचनका सन्दर्भमा नीति ३६५ डटकमका निर्देशक वासुदेव न्यौपानेले वस्तुगततर्फ कार्यकारिणी सदस्य पदका उम्मेदवार नानिराज घिमिरेसँग लिएको अन्तर्वार्ता।
महासंघको निर्वाचन प्रक्रिया, तपाईंको उम्मेदवारी र टिमको वर्तमान अवस्था कस्तो छ ?
हाम्रो विधानअनुसार हरेक तीन वर्षमा कार्यसमिति सहित पूर्ण निर्वाचन हुने व्यवस्था छ । यसपटक पनि गत चैत्र २८ गते वाणिज्य दिवस र २९ गते एजीएम तथा निर्वाचन गर्ने गरी सम्पूर्ण तयारी पूरा भइसकेको थियो । तर अदालतको निर्णयका कारण निर्वाचन केही समयका लागि स्थगित भयो । यद्यपि, हामीले यसलाई कमजोरीको रूपमा होइन, अवसरको रूपमा लिएका छौं । अहिले हामी अझ व्यवस्थित र सुदृढ तयारीका साथ चुनावी मैदानमा उत्रिएका छौं ।
म संस्थापन पक्षमा उपाध्यक्ष शिव घिमिरे नेतृत्वको टोलीबाट उम्मेदवारको रूपमा अघि बढिरहेको छु । हाम्रो टोली सन्तुलित, अनुभवी र सक्षम छ । महिला आरक्षित सिट, महासंघका दुई सिट र उपाध्यक्ष पदमा हाम्रो पक्ष बलियो अवस्थामा छ भने बाँकी १३ सिटमा पनि हामीले राम्रो प्रतिस्पर्धा गर्दै अधिकतम जित हासिल गर्ने लक्ष्य राखेका छौं । हामी जित सुनिश्चित भइसकेको दाबी होइन, तर मतदाताको विश्वासका आधारमा उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त छौं ।
तपाईंको अनुभव र महासंघमा प्रवेश गर्नुको मुख्य उद्देश्य के हो ?
मेरो व्यवसायिक यात्रा २०५८ सालदेखि सुरु भएको हो, जब म फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालको संस्थापक सदस्यको रूपमा जोडिएँ । त्यसपछि अध्यक्षको रूपमा पनि काम गर्ने अवसर पाएँ । यस क्रममा मैले उद्योग क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने मौका पाएँ । व्यक्तिगत रूपमा संस्थाबाट आवाज उठाउँदा केही उपलब्धि भए पनि महासंघमार्फत नीतिगत तहमा पुगेर काम गर्दा अझ प्रभावकारी हुने अनुभवले देखायो ।
करिब एक दशकभन्दा बढी समयदेखि महासंघका विभिन्न समिति र उपसमितिमा रहेर काम गर्दा नीतिगत समस्या, कार्यप्रणाली र सुधारका सम्भावनाहरू स्पष्ट रूपमा बुझ्न पाएँ । कार्यकारी सदस्यको रूपमा काम गर्दा धेरै पहलहरू भए, केही समस्या समाधान पनि भए, तर निर्णय प्रक्रिया अध्यक्षात्मक प्रणालीमा केन्द्रित हुने भएकाले अपेक्षित गति लिन सकेन । यही अनुभवलाई आधार बनाएर अब प्रत्यक्ष रूपमा नीतिगत तहमा प्रभाव पार्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ ।

नेपालको आर्थिक संरचना, नीतिगत अस्थिरता र साना तथा मझौला व्यवसायीका समस्या के-के छन् ?
२०४६ सालअघि नेपालको अर्थतन्त्र उत्पादनमुखी थियो । साना तथा मझौला उद्योगलाई प्राथमिकता दिइन्थ्यो, बैंक ब्याजदरमा सहुलियत दिइन्थ्यो र उत्पादनलाई प्रोत्साहन गरिन्थ्यो । तर त्यसपछि बिस्तारै आयातमुखी अर्थतन्त्रतर्फ झुकाव बढ्दै गयो । उत्पादन क्षेत्र कमजोर हुँदै गयो र व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक बन्दै गयो ।
राजनीतिक अस्थिरताले यस समस्यालाई अझ जटिल बनायो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने, एउटा सरकारले सुरु गरेको काम अर्कोले रोक्ने प्रवृत्तिले दीर्घकालीन सुधार हुन सकेन । प्रशासनिक तहमा पनि निरन्तरता नहुँदा व्यवसायीले बारम्बार एउटै कुरा दोहो¥याएर बुझाउनुपर्ने अवस्था रह्यो ।
साना तथा मझौला व्यवसायीका लागि सबैभन्दा ठूलो चुनौती भनेको पहुँचको कमी हो । ठूला उद्योगीले आफ्नो प्रभावका आधारमा समस्या समाधान गर्न सक्छन्, तर साना व्यवसायीका आवाज नीतिगत तहमा पुग्न गाह्रो छ । उच्च ब्याजदर, कडा नियम, अस्थिर नीति र संरक्षणको अभावले उनीहरू झनै कमजोर भएका छन् । पछिल्लो समय कोरोना महामारीपछि भने उत्पादनको महत्व पुनः बुझिएको छ, जुन सकारात्मक संकेत हो ।

रोजगारी, श्रमिक समस्या र सीप विकासको अवस्था कस्तो छ ? समाधान के हुन सक्छ ?
नेपालमा बेरोजगारीको चर्चा धेरै हुन्छ, तर वास्तविकता हेर्दा उद्योगहरूमा कामदारको अभाव देखिन्छ । विशेष गरी उत्पादन क्षेत्रमा दक्ष जनशक्ति नपाइने अवस्था छ । धेरै युवा वैदेशिक रोजगारीतर्फ गएका छन्, जसले आन्तरिक श्रम बजारलाई कमजोर बनाएको छ ।
अर्को समस्या श्रमिकको उत्पादकत्व हो । विदेशी श्रमिकको तुलनामा नेपाली श्रमिकको उत्पादन क्षमता निकै कम छ । यसको मुख्य कारण भनेको सीप, तालिम र काम गर्ने संस्कारको अभाव हो । तालिम कार्यक्रमहरू प्रभावकारी छैनन्, व्यवहारिकभन्दा औपचारिक मात्र देखिएका छन् ।
समाधानका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ । उद्योगसँग सम्बन्धित संघसंस्थालाई समावेश गरेर सीपमूलक तालिम सञ्चालन गर्नुपर्छ । तालिमपछि रोजगारीको ग्यारेन्टी हुने प्रणाली विकास गर्नुपर्छ । यदि श्रमिकको उत्पादकत्व बढाउन सकियो भने उनीहरूको आम्दानी पनि बढ्छ र वैदेशिक पलायन कम गर्न सकिन्छ ।
प्राकृतिक स्रोत, उद्योग र पर्यटन विकासमार्फत नेपालको आर्थिक समृद्धि कसरी सम्भव छ ?
नेपाल प्राकृतिक स्रोत र विविधताले भरिपूर्ण देश हो । तर यिनको सही उपयोग हुन सकेको छैन । ढुंगा, बालुवा, काठ जस्ता स्रोत व्यवस्थापन गर्न नसक्दा आर्थिक अवसर गुमिरहेका छन् । वातावरणलाई असर नगर्ने गरी वैज्ञानिक व्यवस्थापन गरेर यिनको उपयोग गर्न सकिन्छ ।
त्यसैगरी, कृषि, उत्पादन र ऊर्जा क्षेत्रसँगै पर्यटन पनि नेपालको मुख्य सम्भावना हो । नेपालमा हिमाल, पहाड, तराई, संस्कृति, धर्म र प्राकृतिक सौन्दर्यको अद्वितीय संयोजन छ । छोटो दूरीमै फरक–फरक अनुभव लिन सकिने विशेषता छ । धार्मिक पर्यटन, ट्रेकिङ, प्राकृतिक पर्यटन र पछिल्लो समय बढ्दो वेडिङ पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्न सकिन्छ ।
यदि नीतिगत सुधार, स्थिर सरकार, निजी क्षेत्रसँग सहकार्य र स्रोतको सही उपयोग गर्न सकियो भने नेपालले तीव्र आर्थिक विकास हासिल गर्न सक्छ । मेरो उम्मेदवारीको मुख्य उद्देश्य पनि यही हो–साना तथा मझौला उद्योगीको सशक्तीकरण गर्दै देशको आर्थिक रूपान्तरणमा योगदान पु¥याउनु हो ।

