बाजुरा । बाजुराका हरेक गाउँ बस्तीमा आलु व्यवसाय फस्टाउँदै गएको छ । कृषि पेशामा आत्मनिर्भर यहाँका किसानहरुले पछिल्लो समय आलु खेतिलाई बढवा दिँदै गएका छन् ।
अन्नबाली भन्दा जीविकोपार्जनमा आलु व्यवसाय सहज भएपछि अहिले यहाँका अधिकांश कृषकहरुले ठूलो मात्रामा आलु खेती गरिरहेका छन् । बाजुराका ९ वटै स्थानीय तहमा आलु खेती गर्ने गरिन्छ ।
बिशेषगरी बाजुराको बडीमालिकामा सबैभन्दा बढी आलु उत्पादन हुने गर्छ । खेती कम गरेपनि आलुको उत्पादन भने राम्रो हुने गरेको छ । बडीमालिका ७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिने गरिन्छ ।
जहाँ १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन् । आलुको उत्पादन,प्रवद्र्धन र बजारीकरणमा सहयोग पुर्याउन वि.सं.२०७६ साल कात्तिकमा आलु महोत्सव सञ्चालन गरिएको थियो ।
महोत्सवपश्चात् ढम्कनेको आलुु देशका ठूला शहर पोखरा, काठमाडौं, नेपालगञ्ज, धनगढी लगायतका सहरहरूमा बजारिकरण गरिएको थियो । अहिले पनि यहाँको आलु ती शहरमा जाने गर्छ । आलु पाठशाला समेत सञ्चालनमा रहेको छ ।
आलुबाट आलु चिप्स, मम, खीर, समोसा र पकौडा लगायत ३० बढी परिकार बनाउन सकिन्छ । बाजुरामा करिब एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा उल्लेख छ ।