महासंघको निर्वाचन : महिला उद्यमशीलता र अबको बाटो

नेपाल रिपब्लिक मिडियाकि अध्यक्ष शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्य पदकी उम्मेदवार बनेकी छिन् । महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्षसमेत रहेकी ज्ञवाली सँग निर्वाचन, निजि क्षेत्र, सरकारका कार्य लगायतका विषयमा नीति ३६५ डटकमका निर्देशक वासुदेव न्यौपानेले गरेको कुराकानी ।

 

अहिले निजी क्षेत्रले सामना गरिरहेका मुख्य समस्या के–के हुन् ?

निजी क्षेत्र अहिले विश्वासको संकटबाट गुज्रिरहेको छ । सरकार र व्यवसायीबीचको सहकार्य कमजोर हुँदा आर्थिक गतिविधि प्रभावित भएको छ । नीति तथा नियमहरू व्यवसायमैत्री नभएको गुनासो छ । पछिल्लो समय सम्पत्ति शुद्धीकरणजस्ता विषयमा पनि व्यवसायीहरू दबाबमा छन् । यद्यपि भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको प्रयास सकारात्मक भए पनि त्यसलाई कार्यान्वयन गर्दा प्रमाणका आधारमा निष्पक्ष रूपमा अघि बढ्नुपर्नेछ । निजी क्षेत्र देशको अर्थतन्त्रको मुख्य आधार भएकाले यसलाई सुदृढ बनाउन विश्वास र सहकार्य आवश्यक रहेको छ ।

 

महिला उद्यमशीलताको वर्तमान अवस्था कस्तो छ ?

विगत १० वर्षमा महिला उद्यमशीलतामा उल्लेखनीय सुधार भएको देखिन्छ । महिलाहरू आर्थिक रूपमा सक्षम बन्न थालेका छन् र व्यवसायमा सक्रिय सहभागिता बढेको छ । तर अझै पनि शिक्षा, वित्तीय पहुँच र सीपको कमी मुख्य चुनौतीको रूपमा रहेको छ । ग्रामीण क्षेत्रमा सामाजिक अवरोध पनि देखिन्छ । यी समस्याहरू समाधान गर्न सीप विकास तालिम, सहुलियतपूर्ण ऋण र ‘सीड मनी’ कार्यक्रम आवश्यक रहेको मलाइ अनुभब भएको छ । महिलालाई स्थानीय तहदेखि अन्तर्राष्ट्रिय बजारसम्म जोड्न सके मात्रै वास्तविक सशक्तीकरण सम्भव हुनेछ ।

 

सरकार र निजी क्षेत्रबीचको सहकार्य कसरी सुधार गर्न सकिन्छ ?

सरकार र निजी क्षेत्रबीच नियमित संवाद आवश्यक छ । नीति निर्माण गर्दा व्यवसायीहरूको सुझाव समेट्नुपर्छ । व्यवसायमैत्री वातावरण बनाउन कर प्रणाली, लगानी सुरक्षा र प्रशासनिक प्रक्रियालाई सरल बनाउनु जरुरी छ । साथै, उद्योग, कृषि, पर्यटन र जलविद्युत् जस्ता क्षेत्रमा ठूलो सम्भावना भएकाले दीर्घकालीन नीति बनाएर निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ । स्थिर सरकार छ अब स्पष्ट नीति भए मात्र आर्थिक विकास सम्भव हुनेछ ।

 

निजी मिडियामा सरकारी विज्ञापनको प्रभावबारे तपाईंको धारणा के छ ?

सरकारी विज्ञापन वितरण पारदर्शी नभएको मैले महशुस गरेको छु । राज्यले छुट्याएको ठूलो बजेट लक्षित मिडियासम्म नपुगेको गुनासो छ । यसले निजी मिडियाको दिगोपनामा असर परेको छ । मिडिया लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको सशक्तीकरण आवश्यक छ । विज्ञापन वितरणमा पारदर्शिता र समान अवसर सुनिश्चित गर्नुपर्छ । अन्यथा मिडिया कमजोर हुँदा समाजमा सूचना प्रवाह र उत्तरदायित्व दुबै प्रभावित हुनेछ ।

 

आगामी निर्वाचनमा तपाईंको प्राथमिकता र योजना के छन् ?

म आफू निर्वाचित भए व्यवसायीहरूको आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछु । विशेषगरी महिला उद्यमीहरूका लागि वित्तीय पहुँच, सीप विकास र बजार विस्तारमा काम गर्ने योजना छ । स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने, ‘लोकल टु ग्लोबल’ अवधारणालाई अझ गौरबका साथ् अगाडि बढाउने इच्छा छ । साथै, व्यवसायमैत्री नीति निर्माणमा भूमिका खेल्दै निजी क्षेत्र र सरकारबीच पुलको रूपमा काम गर्ने लक्ष्य छ । निर्यातमुखी अर्थतन्त्र निर्माण गरी आयात घटाउने र उत्पादन बढाउने दिशामा काम गर्ने संकल्प छ ।