पाँच वटा गाडी फसे रोशी खोलाको बाढीमा

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-७ घुमाउनेमा रोशी खोलामा आएको बाढीका कारण पाँच वटा गाडी फसेका छन्।

आज सोमबार साँझ परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा ५ वटा ईभी हाईस फसेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमान्डमा २५ जना, सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा २५ जना र नेपाली सेनाको सेनानीको कमान्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित उद्धार गर्ने कार्य भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार ६०-६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेका छन्। हाल खोलामा पानीको वहाव घटिरहेको छ।

प्रहरीले रोक्दारोक्दै जबर्जस्ती सवारी चलाएको कारण यस्तो घटना हुन पुगेको प्रहरीको भनाई छ।