काठमाडाैं । लगातारको वर्षा र बाढीका कारण तीन दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीले सडक बगाएपछि ठप्प बनेको यातायात सेवा अस्थायी डाइभर्सन निर्माणपछि आज बिहानदेखि पुनः सुचारु गरिएको हो।
गत सोमबार परेको अविरल वर्षाका कारण रोशी क्षेत्रमा सडकमा ठूलो क्षति पुगेको थियो। सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम आवागमन गर्ने सयौं सवारी साधन बीच बाटोमै रोकिएका थिए भने यात्रुहरूले लामो समयसम्म कठिनाइ भोग्नुपरेको थियो।
सडक सञ्चालनमा आए पनि मौसम अझै पूर्ण रूपमा अनुकूल नभएकाले जिल्ला प्रहरी कार्यालयले अत्यावश्यक कामबाहेक यो सडक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी रोशी खोलानजिक निर्माण गरिएको झन्डै चार किलोमिटर लामो अस्थायी डाइभर्सन अत्यन्त जोखिमयुक्त रहेको जनाइएको छ।
प्रहरीका अनुसार सामान्य वर्षा हुँदा समेत उक्त वैकल्पिक मार्गमा क्षति पुग्ने सम्भावना रहने भएकाले जोखिम कम गर्न वर्षा भइरहेका बेला सवारी साधन सञ्चालन अस्थायी रूपमा रोक्ने गरिएको छ।
राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनहरू धुलिखेल, काभ्रेभञ्ज्याङ, मंगलटार र नेपालथोक लगायतका स्थानमा रोकिनुपर्ने अवस्था सिर्जना भएको थियो।
गत वर्ष आएको विनाशकारी बाढीले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर पक्की सडक पूर्ण रूपमा बगाएको थियो। त्यसपछि हाल खोलाको किनारैबाट वैकल्पिक मार्ग निर्माण गरी सवारी सञ्चालन गरिँदै आएको छ।
सरकारले स्थायी सडक निर्माणको काम अघि बढाइरहेको भए पनि वर्षायाममा बारम्बार आउने बाढी र पहिरोका कारण यस क्षेत्रमा आवागमन चुनौतीपूर्ण बन्दै गएको छ। यात्रुहरूले अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयहरूले बताएका छन्।
