नेपाल उद्योग वाणिज्य महासंघमा अब कामको गति चाहिन्छ : उपाध्यक्ष प्रवलजंग पाण्डे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  प्रवलजंग पाण्डेले अब महासंघले समयअनुसार आफ्नो कामको गति बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले निजी क्षेत्रको नेतृत्व गर्ने संस्थाले बदलिँदो आर्थिक परिवेश र सरकारी निर्णय प्रक्रियाको गतिसँग तालमेल मिलाउँदै अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताएका छन्।

एसोसिएट उपाध्यक्षका रूपमा निर्वाचित भएपछि आफ्नो धारणा राख्दै उनले विगतमा निजी क्षेत्रको तुलनामा सरकारी संयन्त्र ढिलो गतिमा अघि बढ्ने गरेको भए पनि पछिल्लो समय सरकार तुलनात्मक रूपमा छिटो निर्णय र कार्यान्वयनतर्फ अग्रसर देखिएकाले महासंघले पनि त्यही गतिमा काम गर्नुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार व्यवसायीका समस्या समाधान, नीतिगत सुधार र व्यावसायिक वातावरण सुदृढीकरणका लागि महासंघले तत्काल काममा केन्द्रित हुनुपर्छ।

पाण्डेले महासंघभित्र कामभन्दा राजनीति बढी हुने प्रवृत्तिले संस्थाको प्रभावकारिता कमजोर बनाएको उल्लेख गर्दै अब आर्थिक, व्यावसायिक र नीतिगत विषयलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए। उनले महासंघलाई निजी क्षेत्रको सशक्त, परिणाममुखी र व्यावसायिक हितमा केन्द्रित संस्थाका रूपमा थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।