नेपाली सडकमा एमजीको नयाँ ऊर्जा

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार

काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेका बेला एमजीले आफ्नो नयाँ मिड–साइज इलेक्ट्रिक एसयूभी ‘एमजी एस ६’ नेपाली बजारमा ल्याउने भएको छ ।

नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स ले आगामी सोमबार विशेष कार्यक्रममार्फत यो नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो ।

गत वर्ष सार्वजनिक भएको एमजी एस ५ को सफलतापछि कम्पनीले थप शक्तिशाली, ठूलो र अत्याधुनिक प्रविधियुक्त मोडलका रूपमा एमजी एस ६ बजारमा ल्याउन लागेको जनाएको छ । विशेषगरी लामो दूरी यात्रा गर्ने परिवार र प्रिमियम सुविधा खोज्ने ग्राहकलाई लक्षित गरी यो गाडी विकास गरिएको कम्पनीको भनाइ छ ।

औपचारिक सार्वजनिकसँगै नेपालभर रहेका एमजीका १४ शोरुममार्फत बुकिङ तथा बिक्री वितरण सुरु गरिनेछ । आकर्षक डिजाइन, आधुनिक प्रविधि र उच्च रेन्जका कारण यो गाडी नेपाली बजारमा नयाँ विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्राविधिक रूपमा एमजी एस ६ निकै शक्तिशाली मानिएको छ । यसमा १८० किलोवाट क्षमताको मोटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । एकपटक पूर्ण चार्ज गर्दा यसले ५२९ किलोमिटरसम्मको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने कम्पनीले जनाएको छ ।

रियर ह्विल ड्राइभ प्रणाली रहेको यो गाडीले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पादन गर्छ । पहाडी तथा घुमाउरा सडकमा समेत उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरिएको छ ।

यसमा १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध भएकाले छोटो समयमा चार्ज गरी लामो दूरी यात्रा गर्न सकिनेछ ।

एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित यो एसयूभीमा कम्पनीको चर्चित साइबरस्टर रोडस्टरबाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फ्रन्ट फासिया डिजाइन प्रयोग गरिएको छ । बाहिरी बनावट स्पोर्टी र आक्रामक देखिए पनि भित्री भागलाई आरामदायी तथा विलासी बनाइएको छ ।

इन्टेरियरतर्फ १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र ११ वटा स्पिकरसहितको अडियो सिस्टम जडान गरिएको छ । चालक र अगाडिका यात्रुका लागि हिटेड तथा भेन्टिलेटेड सिट सुविधा उपलब्ध छ भने पछाडिका सिटमा पनि हिटेड सुविधा दिइएको छ ।

व्यावहारिकतामा पनि कम्पनीले विशेष ध्यान दिएको छ । गाडीमा ६७४ लिटर क्षमताको बुट स्पेस रहेको छ, जसलाई पछाडिका सिट फोल्ड गरेपछि १ हजार ९१० लिटरसम्म विस्तार गर्न सकिन्छ । अगाडिको भागमा १२४ लिटर क्षमताको अतिरिक्त स्टोरेज ‘फ्रंक’ समेत उपलब्ध गराइएको छ ।

सुरक्षाका दृष्टिले यो गाडीले प्रतिष्ठित ‘युरो एनक्याप’ बाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ र इन–बिल्ट युट्युब स्ट्रिमिङजस्ता आधुनिक फिचरले यसलाई थप आकर्षक बनाएको छ ।

नेपाली बजारमा एमजी एस ६ ले BYD का सिलियन ७, Deepal एस ०७ र Leapmotor सी १० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

हाल बजारमा उपलब्ध यस्ता प्रिमियम विद्युतीय एसयूभीको मूल्य ६५ लाखदेखि ८० लाख रुपैयाँसम्म रहेकाले एमजी एस ६ को सुरुवाती मूल्य पनि करिब ६५ लाख रुपैयाँ हाराहारीमा हुन सक्ने अनुमान गरिएको छ ।

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार