नेको इन्स्योरेन्सको कोष बलियो, नाफामा गिरावट

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको देखिएको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार नाफा ५५.६१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क २ अर्ब १२ करोड ५९ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको २ अर्ब १६ करोड १४ लाख रुपैयाँको तुलनामा १.६४ प्रतिशतले कमी हो।

त्यस्तै खुद बीमाशुल्क आर्जन १ अर्ब २२ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ रहेकोमा यसमा सामान्य ०.०७ प्रतिशतले गिरावट आएको छ।

तर बीमा कोषको आकारमा भने उल्लेखनीय वृद्धि देखिएको छ। चैत मसान्तसम्म कम्पनीको बीमा कोष ४५.१४ प्रतिशतले बढेर ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो कोष ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ मात्र रहेको थियो।

वित्तीय सूचकमा हेर्दा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १७.७४ रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष ईपीएस २४.४७ रुपैयाँ रहेको थियो। कम्पनीको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ३६.०७ गुणा र प्रतिशेयर नेटवर्थ २२३.११ रुपैयाँ कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको छ। त्यस्तै, शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, विशेष जगेडा कोषमा २ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १७ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ करोड रुपैयाँ तथा अन्य इक्विटीमा ४१ करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ।

समग्रमा नाफामा गिरावट देखिए पनि बीमा कोष र दीर्घकालीन वित्तीय आधार विस्तारले कम्पनीको संरचनागत स्थिति अझै मजबुत रहेको देखिएको छ।