स्कटल्यान्डलाई हाराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।
सोमबार भएको अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको हो। स्कटल्यान्डलाई हराएसँगै नेपाली टोली अंक तालिकाको पाचौँ स्थानमा उक्लेको छ।
नेपालले स्कटल्यान्डलाई पराजित गरेको खेलमा सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाए। स्कटल्यान्डविरुद्ध सुरुवाती २ विकेट लिएपछि सन्दीपले सर्वाधिक छिटो १५० विकेट लिने खेलाडीको सूचीमा आफूलाई उभ्याए। ओडीआईका पछिल्ला खेलमा उत्कृष्ट प्रर्दशन गर्न नसकेका ललित राजवंशीले चार विकेट लिए।
लिग–२ अंक तालिकाको शीर्ष चारमा रहे नेपालले विश्वकपको ग्लोबल छनोट खेल्दै एक दिवसीय वरियता कायम रहनेछ। अन्यथा प्लेअफ खेल्नुपर्नेहुन्छ।
आजको जितसँगै नेपाली टोलीले शृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग भोगेको हारको बदलासमेत लिएको छ। स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल डीएल मेथडमा दुई रनले पराजित भएको थियो।
अमेरिकालाई भने आठ विकेटले हराएको थियो। जारी सिरिजमा नेपालले एक खेलमा हार र दुई खेलमा जित निकाल्दै चार अंक जोडेको छ।
शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकासँग शुक्रबार खेल्नेछ। लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा अन्तिम शृंखला खेलिरहेको छ।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि आशिफ शेख र कुशल भुर्तेलले ६.४ ओभरमा ५८ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ओपनर आशिफ २९ रन बनाउँदा रनआउट भए। उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर कुशल भुर्तेल ७.२ ओभरमा २८ रनमा बनाउँदा एलबीडब्लूको धरापमा परे। २७ बलमा ४ चौका र १ छक्का सहयोगमा २८ रन बनाएका भुर्तेल ब्रान्डोन म्याकमुलेनको बलमा एलबीडब्लूको धरापमा परे।
तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले १०४ रनको साझेदारी गरे। इशान ५५ रन बनाउँदा मार्क वाटको बलमा कट एन्ड बोल्ड हुन पुगे। उनले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि इशानले ५३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। अमेरिकाविरुद्धको खेलबाट ओडीआइमा डेब्यु गरेका इशानले दोस्रो खेलमा नै अर्धशतक पूरा गरे। अमेरिकाविरुद्धको खेलमा इशान २० रनमा अविजित रहेका थिए।
कप्तान रोहित पौडेल ६८ र आरिफ शेख आठ रनमा अविजित रहे। रोहितले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै, ४ बलमा २ रन बनाएका दीपेन्द्रसिंह ऐरी मार्क वाटकै बलमा कट एण्ड बोल्ड हुन पुगे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिमेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टकल्यान्ड ३९.१ ओभरमा १९४ रन बनाउँदा अलआउट भयो।
स्कटल्यान्डका लागि ब्रान्डोन म्याक मुलेनले सर्वाधिक ७३ रनको योगदान दिए। ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका म्याकमुलेन सन्दीप लामिछानेको बलमा इसान पाण्डेको हातबाट क्याच आउट हुन पुगे। सन्दीपले म्याकमुलेनलाई पेभेलियनको बाटो देखाउँदै १५० रनको आँकडा पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन्।
सन्दीपले २०औँ ओभरको अन्तिम बलमा म्याकमुलेनलाई पेभेलियनको बाटो देखाउँदै अस्ट्रेलियन मिचेल स्टार्सको रेकर्ड तोडेका थिए। त्यसअघि सन्दीपले १२औँ ओभरको तेस्रो बलमा ओपनर जर्ज मुन्सेलाई २१ रन बनाउँदा बोल्डआउट गरे। उनले ३१ बलमा ३ चौका प्रहार गरे।
माइकल इंलिसले ५१ रन बनाउँदा नन्दन यादवको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। मार्क वाटले २० रन बनाउँदा सोमपाल कामीको बलमा आशिफ शेखको हातबाट आउट भए।
कप्तान रिची बेरिङटोन १२ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्डआउट भए। ६ रन बनाएका फिन्ले म्याकमुलेन दीपेन्द्रको बलमा एलबीडब्लूको धरापमा परे। माइकल लिस्क एक रन बनाउँदा ललितको बलमा एलबीडब्लू आउट भए।
नेपालका लागि ललित राजवंशीले चार विकेट लिए। उनले ७ ओभरमा २५ रन खर्चे। सन्दीपले तेस्रो आडीआई खेलमा चार विकेट लिएका हुन्।
सन्दीप लामिछानेले तीन विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा ४७ रन खर्चे। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक विकेट लिए।
