सरकारले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्यांक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रूजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्च बापत २५००० एकमुष्ठ प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै, जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैं गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रतिपरिवारलाई राहत स्वरूप १५००० प्रतिमहिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप २००० दिने निर्णय गरेको छ। हाललाई उनीहरूले तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च पाउनेछन्।
वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने निर्णय सरकारले गरेको छ।
बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रत्यायान नियमावली, २०८३, सैनिक सेवा ९छैटौं संशोधन० नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको छ।
