झापा । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चिया निर्यात विगत दुई सातादेखि पूर्ण रूपमा रोकिएको छ । यसले वार्षिक अर्बौँ रुपैयाँको वैदेशिक आम्दानी गर्ने नेपालको चिया उद्योगमा तत्कालीन चुनौती सिर्जना गरेको छ ।
नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । नयाँ प्रावधानका कारण निर्यात प्रक्रियामा समय र लागत दुवै बढेको व्यवसायीहरूको भनाइ छ ।
संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार चिया निर्यातको मुख्य सिजनमै करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा रहे पनि प्रक्रिया जटिल बनेपछि व्यवसायीहरूले भारततर्फ चिया पठाउन सकेका छैनन् ।
पहिले एकपटकको प्रयोगशाला परीक्षणपछि १५ दिनसम्म १० ट्रक चिया पठाउन सकिने व्यवस्था थियो । तर नयाँ नियमअनुसार प्रत्येक ट्रकको नमुना भारतको मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रत्येक ट्रक परीक्षणका लागि करिब १८ हजार रुपैयाँ शुल्क लाग्ने र रिपोर्ट आउन १४ दिनसम्म लाग्ने बताइएको छ । परीक्षण प्रतिवेदन अनुकूल नभए चिया जफत गरिने प्रावधानसमेत रहेको व्यवसायीहरूको गुनासो छ ।
व्यवसायीहरूले यो व्यवस्थाले निर्यात प्रक्रियालाई झन् कठिन र खर्चिलो बनाएको भन्दै तत्काल संशोधनको माग गरेका छन् । साथै पानीटङ्की भन्सार क्षेत्रमा ट्रक रोक्ने पर्याप्त पार्किङ र पूर्वाधारको अभावले समस्या थपिएको पनि उनीहरूको भनाइ छ ।
नेपाल चिया उत्पादक सङ्घले यो विषयमा नेपाल सरकारले भारतसँग कूटनीतिक तहमा तत्काल छलफल (जिटुजी) गर्नुपर्ने माग गरेको छ ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया गुणस्तरका कारण अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाएको भए पनि प्रमुख बजार भारतमै देखिएको नीतिगत अवरोधले किसान, उद्योगी तथा श्रमिकहरू प्रभावित भएका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । मुलुकभर १७० ठूला चिया बगान र १२० साना तथा मझौला बगान रहेका छन् भने करिब १५ हजार साना किसान र एक लाखभन्दा बढी श्रमिक चिया उद्योगमा संलग्न छन् ।
