मोरङ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरुको सहयोगको लागि बैंकले उक्त डोनर बेड प्रदान गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गर्नुभएको थियो । रेडक्रस सोसाइटीका सभापति मण्डलले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । रक्त संकलन सेवा सञ्चालन गर्ने क्रममा डोनर बेड अत्यावश्यक रहने भएकोले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
