काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ ८ गतेदेखि बिक्री खुला गरेको सेयरमा इच्छुक लगानीकर्ताले आज (जेठ १३ गते) बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सो प्रक्रिया पूरा भएपछि अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर खुला गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले आफ्नो कुल जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ अर्थात् ४९ लाख कित्ता सेयर निष्काशन गर्ने स्वीकृति पाएको थियो।
त्यसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन पहिले नै बाँडफाँट भइसकेको छ।
त्यस्तै, १ लाख ९५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो।
अब बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन्।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले समयमै आवेदन दिन लगानीकर्तालाई आग्रह गरेको छ।
