आज बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा परेपछि सरकारी अस्पतालको सेवा सञ्चालनबारे सर्वसाधारणमा चासो बढेको छ ।
जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ गते शनिबार र १७ गते आइतबार भएकाले चार दिन लगातार सार्वजनिक बिदा परेको छ । यस्तो अवस्थामा सरकारी अस्पताल खुल्ने वा नखुल्ने विषयमा बिरामी र सेवाग्राही अन्योलमा परेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालको ओपीडी सेवा आंशिक रूपमा सञ्चालन हुने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार चारै दिन सरकारी अस्पतालहरूमा आधा दिन ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ ।
उनले मन्त्रालयले सबै अस्पताललाई सार्वजनिक बिदाका दिन पनि ओपीडी सेवा सञ्चालन गर्न सुझाव दिएको जानकारी दिए ।
तर, कतिपय अस्पतालहरूले जनशक्ति व्यवस्थापन र प्रशासनिक कठिनाइका कारण पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताएका छन् ।
केही ठूला सरकारी अस्पतालहरूले भने बिदाका दिन पनि ‘हाफ डे’ ओपीडी सेवा सञ्चालन गर्ने तयारी गरेका छन् ।
महाराजगञ्जस्थित, त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालिबहादुर रोस्याराले सार्वजनिक बिदाका दिन अस्पतालमा आधा दिन ओपीडी सेवा उपलब्ध हुने जानकारी दिए ।
त्यस्तै, पाटन अस्पतालले पनि सार्वजनिक बिदाका बेला आधा दिन सेवा सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले अन्य सरकारी अस्पताललाई समेत बिरामीको सहजतालाई ध्यानमा राख्दै हाफ डे सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।
लगातार बिदाका कारण आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले बिरामीलाई आवश्यक परामर्श तथा नियमित उपचारका लागि समयमै अस्पतालसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
