गणतन्त्र दिवसमा टेलिकमको नयाँ अफर

काठमाडाैं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसर पारेर आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष “गणतन्त्र दिवस अफर २०८३” सार्वजनिक गरेको छ ।

कम्पनीले यस अफरअन्तर्गत “न्यु इयर लाइट” र “न्यु इयर प्रिमियम” नामका दुई प्रकारका आकर्षक डाटा प्याकेज उपलब्ध गराउने जनाएको छ ।

नेपाल टेलिकमका अनुसार “न्यु इयर लाइट” प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक ५ जीबी डाटा सकिएपछि पनि बाँकी अवधिभर २ एमबीपीएस स्पिडमा अनलिमिटेड इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, “न्यु इयर प्रिमियम” प्याकेज अन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । दैनिक १० जीबीको सीमा पूरा भएपछि ग्राहकले बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

दुवै प्याकेजको वैधता अवधि ३० दिन रहनेछ । कम्पनीका अनुसार भोलि जेठ १४ गतेदेखि आगामी २०८३ साल जेठ १६ गतेसम्म ग्राहकहरूले यी विशेष अफरअन्तर्गतका प्याकेज खरिद गर्न सक्नेछन् ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ ।

ग्राहकहरूले गणतन्त्र दिवस अफर प्राप्त गर्न मोबाइलबाट निर्धारित यूएसएसडी कोड डायल गर्न सक्नेछन् । साथै, नेपाल टेलिकम एपमार्फत पनि उक्त प्याकेज सहज रूपमा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ग्राहकलाई सुलभ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको जनाएको छ ।