काठमाडौं। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओ नेपालले अब मोबाइल एपमार्फत हेलिकप्टर बुक गर्न मिल्ने नयाँ सेवा सुरु गरेको छ। कम्पनीले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा ‘पठाओ हेली’ सेवा सार्वजनिक गर्दै डिजिटल यात्रालाई नयाँ चरणमा पुर्याएको जनाएको छ।
राइड सेयरिङ सेवाबाट नेपालमा आफ्नो यात्रा सुरु गरेको पठाओले पछिल्ला वर्षहरूमा पार्सल डेलिभरी, फुड डेलिभरी र होम सर्भिसजस्ता सेवा विस्तार गर्दै आएको छ। अहिले हेलिकप्टर बुकिङ सेवा थपिएसँगै कम्पनी ‘सुपर एप’ अवधारणातर्फ अगाडि बढिरहेको देखिएको छ।
कम्पनीका अनुसार अब प्रयोगकर्ताले पठाओ एप वा पठाओ हेलीको वेबसाइटमार्फत सहज रूपमा हेलिकप्टर बुक गर्न सक्नेछन्। यात्रुले गन्तव्यअनुसारको मूल्य विवरण हेरेर अनलाइनमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
पठाओ हेलीमार्फत मुक्तिनाथ, गोसाईकुण्ड, सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) र अन्नपूर्ण आधार शिविरलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्यमा हेलिकप्टर सेवा उपलब्ध हुनेछ। कम्पनीका अनुसार एउटा हेलिकप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्म यात्रा गर्न सक्नेछन्।
तीर्थयात्रा, नवविवाहित दम्पतीका लागि विशेष भ्रमण, पारिवारिक यात्रा तथा साथीभाइसँग छोटो समयमा हिमाली तथा पर्यटकीय क्षेत्र घुम्न चाहने यात्रुका लागि यो सेवा उपयोगी हुने कम्पनीको विश्वास छ।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकाली ले नेपालको डिजिटल अर्थतन्त्र विस्तार गर्ने लक्ष्यसहित सेवा विविधीकरणलाई अगाडि बढाइएको बताएका छन्। उनका अनुसार मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र इ–कमर्सलाई एउटै प्लेटफर्ममा जोड्ने रणनीतिअनुसार कम्पनीले नयाँ सेवा विस्तार गरिरहेको छ।
नेपाल सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०८५’ लाई लक्षित गर्दै पर्यटन क्षेत्रलाई डिजिटल माध्यमसँग जोड्न हेलिकप्टर बुकिङ सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। पर्यटन व्यवसाय पुनरुत्थान र आन्तरिक तथा बाह्य पर्यटकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
डिजिटल सेवाप्रतिको बढ्दो आकर्षणसँगै नेपालमा एप आधारित सेवाहरू विस्तार भइरहेका बेला पठाओ हेलीले पर्यटन र प्रविधिलाई जोड्ने नयाँ आयाम थपेको विश्लेषण गरिएको छ।
