बजेटले बढायो वित्तीय भरोसा

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सार्वजनिक गरेको बजेटको स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, लगानी प्रवर्द्धन र निजी क्षेत्रको मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

परिसङ्घले जारी गरेको विज्ञप्तिमा बजेटमार्फत अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरू समयसापेक्ष, सकारात्मक र उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ केन्द्रित रहेको उल्लेख गरिएको छ। सिबिफिनका अनुसार पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तता, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा बढ्दो ‘पर्ख र हेर’ प्रवृत्ति तथा बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्थाबीच आएको बजेटले आर्थिक गतिविधिलाई पुनः गतिशील बनाउने आधार तयार गरेको छ।

परिसङ्घले विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा दिइएको प्राथमिकता, ऊर्जा क्षेत्रको विस्तार तथा लगानीमैत्री वातावरण निर्माणका उपायहरूको प्रशंसा गरेको छ।

बैंकिङ क्षेत्रमा पछिल्लो समय चुनौतीका रूपमा देखिएको खराब कर्जा (एनपीएल) तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि ‘विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ (एसेट म्यानेजमेन्ट कम्पनी) स्थापना गर्ने सरकारी घोषणालाई सिबिफिनले ऐतिहासिक र दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ। यसबाट वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न र बैंकिङ प्रणालीलाई थप सबल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञप्तिमा बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ। व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, करका दरमा पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्थाले समग्र अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास परिसङ्घले व्यक्त गरेको छ।

सिबिफिनले बजेटमा समेटिएका जनमुखी तथा विकासमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व आवश्यक रहेकोमा जोड दिएको छ। साथै, निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रमा राखेर सरकार अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेको छ।

परिसङ्घले आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार तथा दिगो आर्थिक वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा नेपाल सरकारसँग सहकार्य गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। सुदृढ वित्तीय प्रणाली र लगानीमैत्री वातावरण निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बन्नुपर्नेमा समेत सिबिफिनले जोड दिएको छ।