बेरोजगार इन्जिनियरहरूका लागि पुल्चोकमा रोजगार मेला

उच्च शिक्षा पूरा गरेपछि राम्रो रोजगारीको खोजीमा रहेका युवाहरूले अझै पनि उपयुक्त अवसर प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थान-पुल्चोक क्याम्पसमा आगामी जेठ २३ गते आयोजना हुने मेलामा सहभागि हुन तयार २५ वर्षीय इन्जिनियर नविन पोखरेलले आफू विगत छ महिनादेखि जागिरको खोजीमा रहेको बताए।

“मैले सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेको एक वर्ष भयो। विभिन्न कम्पनीमा आवेदन दिएँ तर अनुभव नभएको कारण धेरै ठाउँबाट अवसर पाउन सकिनँ,” उनले भने।

रोजगार मेलामा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र अन्तर्वार्ता दिने अवसर पाउने आशामा उनी उत्साहित देखिन्थे। उनका अनुसार यस्ता मेलाले रोजगारदाता र रोजगार खोज्ने युवाबीचको दूरी कम गर्न मद्दत गर्छ।

अन्य युवाहरूले पनि शैक्षिक योग्यताअनुसारको रोजगारी प्राप्त गर्न जेठ २३, २४ र ३० गतेको रोजगारी मेलाले जागिरको चुनौतीलाई अवसरमा बदल्ने आशा रहेको बताएका छन्।

रोजगार विज्ञहरूका अनुसार नेपालमा दक्ष जनशक्ति भए पनि रोजगार अवसरको अभाव र अनुभवको मागका कारण धेरै युवा समस्यामा परिरहेका छन्।

सरकार तथा निजी क्षेत्रले रोजगार सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा जोड्नका लागि पुल्चोक क्याम्पसका विद्यार्थीहरुको समूह सेतुले रोजगार मेलाको आयोजना गर्न लागेको हो ।

इन्जिनियरिङ अध्ययन संस्थान

पुल्चोक क्याम्पस

रोजगार मेलाजस्ता कार्यक्रमले युवालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै रोजगारी प्राप्तिको सम्भावना बढाउने विश्वास गरिएको छ।

इन्जिनियरहरूका लागि पुल्चोक क्याम्पसमा विभिन्न कम्पनीद्वारा रोजगारी अवसर, अन्तर्वार्ता र करियर परामर्श उपलब्ध हुने भएको छ ।

इन्जिनियरिङ क्षेत्रमा अध्ययन पूरा गरेका तथा रोजगारीको खोजीमा रहेका युवालाई लक्षित गर्दै काठमाडौंमा ‘SETU 2026: Building Bridges to Careers’ अर्थात सेतु २०२६: करियरका लागि पुल निर्माणआयोजना हुने भएको हो।

कार्यक्रमको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञ, उद्योग प्रतिनिधि तथा पूर्वविद्यार्थीहरूसँगको अन्तरक्रियामार्फत करियर मार्गदर्शन प्रदान गरिनेछ। विद्यार्थीहरूले आफ्नो विषयअनुसार उपलब्ध करियरका सम्भावना, उद्योग, अनुसन्धान, उद्यमशीलता, लोकसेवा, उच्च शिक्षा तथा विदेश अध्ययन लगायतका विविध अवसरबारे जानकारी प्राप्त गर्नेछन्।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा मेला आयोजक सेतुका अनुसार जेठ २३ गतेदेखि हुने ३ दिने मेलामा निर्माण, सूचना प्रविधि, ऊर्जा, विमान, खाद्य, क्यामेस्ट्रि, मेकानिकल, सिभिल, अटोमोबाइल, दूरसञ्चार तथा जलविद्युत् क्षेत्रका विभिन्न कम्पनीहरूको सहभागिता रहनेछ।

मेलामा २३ र २४ गते इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुलाई व्यक्तिगत विवरणबारे जानकारी, सरकारी सेवाका लागि अध्ययन अनुसार पद, अन्तरवार्ता दिने तरिकाबारे जानकारीका साथै रोजगारी क्षेत्र छनोटबारे वर्णन गरिने छ ।

मेलामा सहभागी कम्पनीहरूले आवश्यक जनशक्ति छनोटका लागि प्रत्यक्ष अन्तर्वार्ता, सीभी संकलन तथा करियर परामर्श सेवा प्रदान गर्नेछन्।

रोजगारदातासँग प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजक सदस्य प्रस्हंसा सुवेदीले जानकारी दिइन् ।

प्रशंसा सुवेदी

उनले भनिन्,”३ दिने मेलाको अन्तिम दिन जेठ ३० गते रोजगारदाता र रोजगार खोज्ने युवाबीच पुलको काम गर्ने तथा दक्ष जनशक्तिलाई उपयुक्त अवसरसँग जोड्न सहयोग पुग्ने कार्य हुनेछ।”

नेपालमा पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका कम्पनीहरूको सहभागिता सहित रोजगार तथा करियर विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिएको पहिलो पटक हो ।

मेलामा सहभागी हुन इच्छुक इन्जिनियरहरू र कर्मचारी खोज्ने कम्पनीहरुले कलेजमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। कार्यक्रममा सयौं युवा इन्जिनियरहरूसँगै रोजगारी दिने कम्पनहिरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयोजकले आगामी दिनमा अन्य प्राविधिक तथा व्यावसायिक क्षेत्रका युवालाई समेत समेटेर यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।

रोजगार मेलाले युवा इन्जिनियरहरूलाई करिअर विकास तथा रोजगारी प्राप्तिको अवसर सिर्जना गरेको विश्वास गरिएको छ।