बजारमा ग्यास अभाब हट्यो तर निगमले बेच्दैन पूरा सिलिन्डर किन ?

बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति सहज भए पनि नेपाल आयल निगमले तत्काल भरी सिलिन्डर बिक्री गर्ने योजना नभएको जनाएको छ ।

ग्यासको चरम अभाव भएपछि गत फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेको निगमले अहिले बजारमा अभाव टरे पनि भरी सिलिन्डर बेच्ने योजना नरहेको स्पष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको ढुवानी अझै सहज नभइसकेकाले तत्काल भरी सिलिन्डर नबेच्ने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
‘पश्चिम एसियाको द्वन्द्व साम्य होला जस्तो भएको थियो, तर पुनः युद्ध चर्किएको छ । कुन बेला कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने अन्योल कायमै छ,’ उनले भने, ‘अहिले उपभोक्ताले सहज रूपमा ग्यास पाइरहनुभएको छ र कुनै गुनासो पनि छैन । त्यसैले अहिले नै भरी सिलिन्डर ग्यास बेच्ने हाम्रो कुनै योजना छैन ।’

प्रवक्ता ठाकुरका अनुसार छिमेकी मुलुक भारतले समेत इन्धन खपत घटाउन सन्देश जारी गरिरहेको अवस्थामा नेपालले पनि खपत कम गर्नुपर्ने आवश्यकता छ । साथै, अहिले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिएका कारण पनि पेट्रोलियम पदार्थको खपत केही मात्रामा घटेको उनले बताए ।