शिवम् सिमेन्टको ६२ करोड रुपैयाँ खुद नाफा ९ महिनामै

शिवम् सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६१ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले गत आ.व.मा ७९ करोड ८० लाख रुपैयाँ, सन् २०२४ मा २६ करोड र सन् २०२३ मा ५९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको ९ महिनाको अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाउँदा करिब ५ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सो अवधिमा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२५ मा ७ अर्ब ७६ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००३ मा स्थापना भएको कम्पनी सन् २०१५ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीमा लक्की ग्रुप, शारदा ग्रुप र गोयल ग्रुपका स्वामित्व छन् ।

कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गरी शिवम् सिमेन्ट ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको सिमेन्ट उद्योग नजिकै पाँच वटा क्लिङ्कर उत्पादन गर्ने खानीहरु छन् । कम्पनीले शिवम् होल्डिङको ८५ प्रतिशत स्वामित्व ओगटेको छ ।

साथै, कम्पनीले नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टमा ३० प्रतिशत हिस्सा ओगटेको छ । होङ्सी शिवम् सिमेन्ट चीनको होङ्सी समूहसँगको संयुक्त लगानीअन्तर्गत सञ्चालन भइरहेको कम्पनी हो ।

कम्पनीले आंशिक रुपमा एकीकृत सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीसँग वार्षिक ६ लाख मेट्रिक टन क्लिंकर र ९ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको छ ।

कम्पनीले विशेषगरी ओपीसी उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १५ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको छ । गत आवको सोही अवधिमा ८।४ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको थियो ।

ऋणप्रतिको कम निर्भरता तथा आन्तरिक स्रोतबाट प्राप्त आम्दानीको राम्रो सञ्चितीका कारण कम्पनीको पुँजीकरण तथा ऋण सेवा क्षमतासम्बन्धी सूचकहरु बलिया रहेका छन् । कम्पनीले पछिल्ला तीन वर्षमा नाफाको २८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीको चालु आवको ९ महिनाको अवधिमा समग्र गियरिङ अनुपात ०.०३ गुणा तथा कुल ऋणरसञ्चालन नाफा मार्जिन अनुपात ०.२८ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको गियरिङ अनुपात ०.०१ गुणा थियो ।

साथै, ऋणको ब्याजदर क्रमिक घट्दै गएकाले कम्पनीको कवरेज सूचकहरू पनि स्वस्थ रहेको रेटिङमा उल्लेख छ । कम्पनीको चालु आवको ९ महिनाको अवधिमा ब्याज भुक्तानी कवरेज अनुपात ६१ गुणाबाट बढेर ७१ गुणा पुगेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ९ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।