शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

काठमाडौं । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन्।

शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण तथा प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय झाको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप २०२५÷२६ अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न रहेका थिए। उक्त कार्यक्रममार्फत उनले शिक्षा, नेतृत्व, सार्वजनिक नीति र सुशासनका विषयमा अध्ययन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै आएका छन्।

यसअघि झा काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यका रूपमा कार्यरत थिए। उनले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन र अनुगमनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उनको नेतृत्वमा ‘सीप मेला’, प्राविधिक तथा व्यावसायिक शिक्षा, ‘बुक फ्रि फ्राइडे’, सिर्जनात्मक सिकाइ, विद्यालय सौन्दर्यीकरण, शिक्षक क्षमता विकास, अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रम तथा विशेष विद्यालय सुदृढीकरणजस्ता कार्यक्रम सञ्चालन भएका थिए।

झाले टिचर्स फर नेपालमा करिब आठ वर्ष सञ्चालन निर्देशक, भर्ती तथा छनोट निर्देशक र भर्ती व्यवस्थापकका रूपमा कार्य गर्दै संस्थागत रणनीति, मानव स्रोत व्यवस्थापन, शिक्षक छनोट प्रणाली, नेतृत्व विकास, सञ्चार तथा साझेदारी विस्तारमा महत्वपूर्ण योगदान दिएका छन्।

उनी बीआईटीएस लिडर इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्ष पनि हुन्। उक्त संस्थामार्फत उनले स्मार्ट लर्निङ, नवप्रवर्तनमा आधारित सिकाइ केन्द्र, अन्तरपुस्ते शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम, युवा उद्यमशीलता, रोजगारी प्रवद्र्धन, नेतृत्व विकास तथा संस्थागत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

शैक्षिक रूपमा झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले नेपालको शिक्षा प्रणाली सुधारसम्बन्धी विभिन्न अनुसन्धानसमेत गरेका छन्।

दक्षिण कोरिया, केन्या, बंगलादेश, अष्ट्रेलिया, चिली, थाइल्यान्ड, भारत, फिलिपिन्स तथा युरोपका विभिन्न मुलुकमा आयोजित शिक्षा, नेतृत्व, विपद् जोखिम न्यूनीकरण, सार्वजनिक नीति तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशालामा उनले नेपालको प्रतिनिधित्व गरेका छन्।

शिक्षा प्रशासन, सार्वजनिक नीति, सुशासन, नेतृत्व विकास, रणनीतिक योजना, उद्यमशीलता, परियोजना व्यवस्थापन, प्रविधि तथा नवप्रवर्तन उनका प्रमुख विशेषज्ञताका क्षेत्र हुन्। शिक्षा सुधार, युवा विकास, राजनीतिक नेतृत्व, सामाजिक रूपान्तरण तथा सार्वजनिक नीतिका विषयमा उनका विभिन्न अनुसन्धान, लेख र विश्लेषण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यममा प्रकाशित छन्।

मन्त्रालयले झाको नियुक्तिसँगै विद्यालय शिक्षा सुधार, सीपमूलक शिक्षाको विस्तार, डिजिटल शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण तथा शिक्षा क्षेत्रमा नवीन सोच र प्रभावकारी कार्यान्वयनले थप गति लिने अपेक्षा गरेको छ।