ललितपुर । विश्व कला नगरीका रूपमा परिचित ललितपुरको हस्तकला, सांस्कृतिक सम्पदा र स्थानीय सीप–कौशलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘विश्व कला नगरी तथा हस्तकला प्रवर्द्धन वडा-स्तरीय सचेतना कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।
असार १५ र १७ गते पाटन दरबार स्क्वायरस्थित सत्यमोहन जोशी सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल हस्तकला महासंघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, हस्तकला व्यवसायी, कलाकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले ललितपुरलाई विश्व कला नगरीको पहिचानमा सीमित नराखी यसको मौलिक कला, सीप र संस्कृतिलाई विश्वसामु प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
कार्यक्रममा युवा पुस्तालाई परम्परागत हस्तकला व्यवसायप्रति आकर्षित गर्दै आधुनिक प्रविधिसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने, लुकेर रहेका स्थानीय प्रतिभा र सीपको खोजी गरी प्रचार–प्रसार गर्नुपर्ने तथा हस्तकलालाई रोजगारी, पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्ने विषयमा व्यापक छलफल भएको थियो।
वक्ताहरूले यस्ता सचेतनामूलक कार्यक्रम ललितपुरमा मात्र सीमित नराखी देशका अन्य कला र शिल्प सम्पन्न क्षेत्रमा समेत सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे। नेपालको मौलिक हस्तकला र सांस्कृतिक सम्पदालाई विश्व बजारमा स्थापित गर्न राज्य, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा सहभागीहरूको साझा निष्कर्ष रहेको थियो।
कार्यक्रमले विश्व कला नगरी ललितपुरको पहिचानलाई थप सशक्त बनाउँदै हस्तकलाको संरक्षण, प्रवर्द्धन र भावी पुस्तामा यसको हस्तान्तरणका लागि सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।