काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाए पनि त्यसअनुसार सेवा सुविधा दिन नसकेको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता आधारभूत सुविधा उपलब्ध गराउन नसकेको बताए ।
उनले कर तिरेबापत नागरिकले सुविधा पाउनुपर्ने भए पनि अहिले उल्टै दुःख, निराशा र आत्महत्याको अवस्था सिर्जना भइरहेको टिप्पणी गरे । उनले गणेश नेपालीको घटनालाई उदाहरण दिँदै राज्यको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।
‘आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्छन् । तर राज्यले के दिन्छ रु न शिक्षा निःशुल्क छ, न स्वास्थ्य निःशुल्क छ, न गतिलो बाटो छ, न पार्किङको व्यवस्था छ । कर लिएपछि त्यसको बदलामा सुविधा दिनुपर्छ,’ उनले भने ।
सांसद शाहीले गृहमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । उनले गृहमन्त्रीले जनताको जीवन बचाउनेभन्दा मिडिया र प्रचारमा बढी ध्यान दिएको आरोप लगाए ।
‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ? हिजो गृहमन्त्री चलचित्रको नायकजस्तो मिडिया घेरेर कहिले विमानस्थल, कहिले कता दौडिरहनुभएको थियो,’ उनले भने ।
उनले गृहमन्त्रीको प्राथमिकता भिडियो बनाउने नभई नागरिकको जीवन रक्षा गर्ने हुनुपर्ने बताए ।
‘हामीलाई गृहमन्त्रीले कति भिडियो बनाउनुभयो, कति युट्युब चलाउनुभयो भन्ने मतलब छैन । महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो,’ शाहीले भने ।
