कर्णालीमा सत्ता संकट, कोशीमा गठबन्धन नटुट्ने सरकारको दाबी

विराटनगर । कर्णाली प्रदेशमा कांग्रेसका सबै मन्त्रीले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनको भविष्यलाई लिएर कोशी प्रदेशमा पनि राजनीतिक चासो बढेको छ । सुदूरपश्चिममा समेत गठबन्धनबीच मतभेद देखिइरहेका बेला कोशी सरकारको निरन्तरताबारे चर्चा सुरु भएको हो ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले भने प्रदेशको सत्ता समीकरण नटुट्ने दाबी गरेका छन् ।  उनले कोशीमा कांग्रेस–एमालेबीचको सहकार्य यथावत् रहने बताए ।

उनले बहुमतका आधारमा सरकार गठन हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै कोशी प्रदेशको वर्तमान गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।

कोशी प्रदेशमा आलोपालो नेतृत्वको सहमति रहेको दाबी भइरहेका बेला हाल एमाले सचिव हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा कांग्रेस सांसदहरूले सुरुआती चरणमा असन्तुष्टि जनाए पनि दलहरूबीच सहमति भएपछि बजेट प्रदेशसभाबाट पारित भएको थियो ।