काठमाडौं , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनलाई सहयोग उपलब्ध गराएको हो। उक्त सहयोगबाट निर्माण सम्पन्न हुने आवासीय भवनले ६० जना दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरणमा बसोबास गर्ने अवसर प्रदान गर्नेछ।
फाउन्डेसनका अनुसार नयाँ भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइसम्बन्धी आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवासीय पूर्वाधारको व्यवस्था गरिएको छ। यसअघि संस्था सीमित स्रोतसाधनका बीच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो।
नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यलाई पनि उत्तिकै महत्त्व दिएको बताए। दृष्टिविहीन बालबालिकाको सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवन निर्माणको अभियानमा सहकार्य गर्न पाएकोमा कम्पनी गौरवान्वित रहेको उनले उल्लेख गरे।
नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्थानका विभिन्न कार्यक्रममार्फत समाजमा योगदान पुर्याउँदै आएको जनाएको छ।
