आर्सनलले सिटीलाई हराउँदै जित्यो कम्युनिटी शिल्ड

इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० ले पराजित गर्दै २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ।

प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतमै अग्रता बनायो। खेल सुरु भएको २३ सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिकार्डो कालाफिओरीले गोल गर्दै टोलीलाई अघि बढाए।

आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो। नयाँ खेलाडी क्रिस्टोस त्जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभर्ट्जले हेडमार्फत गोल गरे।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल थप्यो। त्जोलिसको पासमा ओडेगार्डले सिटीको पेनाल्टी क्षेत्रमा बल पाए। उनले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई छलाउँदै गोल गरे।

एफए कप विजेता सिटीमाथिको जितसँगै आर्सनलले पछिल्लो चार महिनामा दोस्रो उपाधि जितेको हो। आर्सनलको यो समग्रमा १८औँ कम्युनिटी शिल्ड उपाधिसमेत हो।

आर्सनलको जितमा त्जोलिस नायक बने। उनले दुई असिस्ट गर्दै टोलीको आक्रमणमा प्रभावशाली प्रदर्शन गरे। गत सिजन क्लब ब्रुगका लागि उनले १७ गोल गर्नुका साथै २३ असिस्ट गरेका थिए। आर्सनलले उनलाई यसै समरमा ३ करोड ४० लाख पाउन्डमा अनुबन्ध गरेको हो।

आर्सनलका लागि लुइस स्केलीले पनि प्रभावशाली प्रदर्शन गरे। उनले पहिलो गोलका लागि अवसर सिर्जना गरेका हुन् । यसबीच उनीमाथि चेल्सी र म्यानचेस्टर युनाइटेडको चासो रहेको चर्चा छ।

ओडेगार्डले पहिलो हाफको अन्त्यतिर गोल गर्ने अर्को राम्रो अवसर पाए पनि उनको प्रहार जोस्को ग्भार्डियोलले गोललाइनबाट बचाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका बुकायो साकाले पनि राम्रो अवसर पाए, तर उनको प्रहार बारभन्दा माथिबाट बाहिरियो।

वेम्बलीमा क्यानडेली गायक द विकेन्डको ‘आफ्टर आवर्स टिल डन’ टुर आयोजना भइरहेकाले यसपटक कम्युनिटी शिल्डको खेल कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा खेलाइएको थियो।

एजेन्सी