काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पुनः पाटा (प्यासिफिक एसिया ट्राभल एसोसिएसन) अन्तर्राष्ट्रिय कार्यसमितिको सदस्यमा मनोनित भएका छन् ।
पाटा अध्यक्ष हेनरी ओ (दक्षिण कोरिया) ले पाण्डेलाई सल्लाहकारका रूपमा मनोनयन गरेपछि उनी पुनः कार्यसमितिको सदस्यका रूपमा चयन भएका हुन् ।
पाण्डेसँगै साउदी अरेबिया पर्यटन प्राधिकरणका एसिया तथा प्रशान्त क्षेत्रीय अध्यक्ष अलहशन अल्डाब्बाग पनि कार्यसमितिको सदस्यमा मनोनित भएका छन् । मलेसियाको पर्यटकीय प्रान्त सारावाकमा अगस्ट १८ देखि २० तारिखसम्म आयोजित पाटा ट्राभल मार्ट तथा संस्थाको ७५औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा बसेको पाटा कार्यसमिति र बोर्ड बैठकले उक्त नियुक्तिलाई अनुमोदन गरेको हो। पाटाले प्रेस विज्ञप्तिमार्फत यसको औपचारिक जानकारी सार्वजनिक गरेको हो ।
पाण्डेको पाटासँगको यात्रा सन् २०१३ देखि थप सशक्त रूपमा अघि बढेको मानिन्छ । उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२ औँ अध्यक्षका रूपमा नेतृत्व गर्दै नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि उनले सन् २०२० देखि २०२४ सम्म लगातार दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिव तथा कोषाध्यक्षको जिम्मेवारी सम्हाले । संस्थाको आर्थिक तथा प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उनले खेलेको भूमिका पाटाभित्र उच्च रूपमा मूल्याङ्कन गरिएको छ ।
अन्तर्राष्ट्रिय पर्यटन नीतिको गहिरो समझ, संस्थागत नेतृत्व क्षमता र निरन्तर सक्रियताकै आधारमा पाण्डे सन् २०२४ देखि २०२६ सम्मका लागि पाटा अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको योगदानको सम्मानस्वरूप पाटाले गत वैशाखमा उनलाई आजीवन सदस्यता अवार्डबाट सम्मानित गरेको थियो । यो सम्मान संस्थाप्रति दशकौँसम्म समर्पित रहँदै विश्व पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई मात्र प्रदान गरिने गरिन्छ ।
पाण्डे यसअघि नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्यसमेत रहेका पाण्डेले ३८ वर्षभन्दा लामो व्यावसायिक यात्रामा उनले ट्रेकिङ, ट्राभल, वायुसेवा, होटल तथा रेस्टुरेन्टलगायत पर्यटनका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
उनी ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य तथा एअरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका पूर्वमहासचिवसमेत हुन् ।
पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सक्रिय पाण्डेले सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा सम्पन्न मन्त्रिपरिषद्को ऐतिहासिक बैठकको मुख्य संयोजनसमेत गरेका थिए । पाटाको अन्तर्राष्ट्रिय नेतृत्व तहमा उनको पुनः नियुक्तिले नेपाली पर्यटन क्षेत्रको विश्वव्यापी उपस्थिति र प्रभावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
