नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’सँग क्षतिपूर्ति दाबी गर्दै पत्र पठाएको छ।
नेपालले खाँदै नखाएको विषको असर भोग्नुपरेको उल्लेख गर्दै रसुवामा जलवायु परिवर्तनका कारण आएको बाढीले खर्बौंको क्षति पुर्याएको उल्लेख गर्दै नेपालले उक्त पत्र पठाएको हो ।
विश्व बैङ्कको सन् २०२४ को तथ्याङ्कअनुसार प्रतिव्यक्ति प्रतिवर्ष विश्वव्यापी औसत कार्बन उत्सर्जन ४.६७ टन रहेको छस जसमा चीनको ९.३ टन, अमेरिकाको १३.६ टन र भारतको २.१७ टन छ।
त्यसको तुलनामा एक जना नेपालीले वर्षभरिमा जम्मा ०.५४ टन मात्र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने भएकाले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका नगण्यप्रायः देखिन्छ।
अहिले नेपाल क्लाइमेट इन्जस्टिस अर्थात् जलवायु अन्यायमा परेको कुरालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कभरेजमा समावेश गरेका छन्।
अमेरिकी पत्रिका द न्युयोर्करमा पत्रकार इशान थरुरले यस विपत्तिलाई प्राकृतिक प्रकोपका रूपमा मात्र नहेरी विश्वव्यापी जलवायु अन्यायको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। थरुरको लेखको मुख्य जोड जलवायु न्यायको प्रश्नमा रहेको छ।
उक्त लेखमा नेपालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान गरे पनि तीव्र गतिमा पग्लिरहेको हिमनदी प्रणालीको ठूलो मार खेप्दै असाधारण रूपमा असमान मूल्य चुकाउनुपरेको विषयलाई उनले उजागर गरेका छन्।
उनले हिमालयको पवित्र भूगोल र मानवसिर्जित जलवायु परिवर्तनबीचको सम्बन्ध दर्शाउन भगवान् शिवले कैलाश पर्वतमा गङ्गा नदीलाई जटामा बाँधेको पौराणिक कथालाई प्रतीकात्मक रूपमा जोडेका छन्।
यसका साथै लेखमा भारतीय टिप्पणीकार ब्रह्म चेल्लानीको भनाइ उद्धृत गर्दै चीनले तिब्बती पठारमाथिको नियन्त्रणबाट रणनीतिक लाभ लिइरहेको र सीमापार नदीहरूमा बाँधको शृङ्खला बनाएर तनावका बेला जलस्रोतसम्बन्धी तथ्याङ्क रोक्ने गरेको आरोपलाई समेत समेटिएको छ।
जापान टाइम्सले प्रकाशित गरेको रिपोर्टमा भूउपग्रह तस्बिर र भौगर्भिक डेटाका आधारमा जुरिक विश्वविद्यालयका अनुसन्धानकर्ता साइमन एलेनको मन्तव्यलाई समेटेको छ।
एलेनले नेपालमा गएको बाढीपहिरो आउनुमा हिउँ र चट्टानको मिश्रणलाई सम्भावित कारणका रूपमा देखेका छन्।
‘हामीले पक्कै पनि पुष्टि गरेका छौं, त्यहाँ एउटा ठूलो हिउँको पहिरो खसेको थियो। त्यसमा सम्भवतः हिउँ र चट्टानको मिश्रण थियो। त्यो अलग भयो र पछि तरल पदार्थमा बदलियो।
त्यसपछि त्यो विनाशकारी बाढीमा परिणत भयो,’ एलेन भन्छन्।
‘जापान टाइम्स’ मा प्रकाशित सोही लेखमा क्यालगरी विश्वविद्यालयका भू–आकृतिविज्ञ तथा सहप्राध्यापक ड्यान सुगरले घर्षण र तापक्रमबारे व्याख्या गरेका छन्।
‘जब धेरै चट्टानहरू धेरै माथिबाट तल खस्छन्, तब त्यसले ठूलो मात्रामा तापक्रम पैदा गर्छ। त्यो तापक्रमले धेरै हिउँ पगाल्न सक्छ। त्यसैले ती अत्यन्तै भयानक भिडियोहरूमा देखिएको पानीको केही भाग यसरी बनेको हुन सक्छ,’ सुगरले ‘जापान टाइम्स’ सँग भने।
‘जापान टाइम्स’ का अनुसार ला ट्रोब एसियाकी निर्देशक रुथ गेम्बलले यस बाढीको वेग र दूरीलाई आन्तरिक सुनामीको सङ्ज्ञा दिँदै भनेकी छन्, ‘यो लगभग १७० किलोमिटरसम्म बगेर आन्तरिक सुनामीजस्तै सञ्चालित भयो।’
‘जापान टाइम्स’ र ‘हिन्दुस्तान टाइम्स’ मा उल्लिखित विवरणअनुसार नेपालको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुलीले चिनियाँ पक्षले उपलब्ध गराएका भूउपग्रह तस्बिरहरूको अध्ययन गर्दा यो घटना हिमपहिरो, पर्माफ्रोस्टको विस्थापन र ठूलो चट्टान खस्ने संयुक्त प्रक्रियाबाट भएको पुष्टि हुने बताएका छन्।
यो पहिरो नेपालको भूभागबाट सुरु भई सीमापार गर्दै चीनतर्फ पुगेको र त्यसपछि दुवै देशका तटीय क्षेत्रहरूमा विनाश निम्त्याएको हो।
‘हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखअनुसार २०७२ सालको गोर्खा भूकम्पले सोही पहाडी संरचनामा पुर्याएको आन्तरिक क्षतिले पनि यस पहिरोलाई थप सहयोग गरेको हुन सक्ने आशङ्का गरिएको छ।
वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्र विश्वका अन्य भागको तुलनामा करिब दुई गुणा बढी गतिमा तातिरहेको छ। विश्वभरका हिमनदीहरू विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर खुम्चिरहेका छन्।
‘जापान टाइम्स’ मा उद्धृत संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२० को दशकमा हिमाली हिमनदीहरू पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको छ।
यस शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रमा हिमताल विस्फोटन र हिमनदीसँग सम्बन्धित बाढीको जोखिम तेब्बर हुने प्रक्षेपण गरिएको छ।



