भोटेकोसी बाढीपीडितलाई स्वावलम्बनको राहत

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार

नुवाकोट । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ का स्थानीयवासीलाई स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले राहत सामग्री वितरण गरेको छ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत भदौ १७ गते बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो। सडकमा भएको ठूलो क्षतिका कारण उद्धार तथा राहतको पहुँचबाट टाढा रहेका नदीपारिका एकान्त क्षेत्रमा बसोबास गर्ने १४१ जना प्रभावित व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराइएको संस्थाले जनाएको छ।

बाढीका कारण स्वावलम्बन लघुवित्तको बेत्रावती शाखामा कार्यरत दुई जना कर्मचारीसमेत बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। संस्थाले आफ्नै कर्मचारी बेपत्ता भएको दुःखद अवस्थाबीच पनि प्रभावित स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राख्दै राहत वितरणलाई निरन्तरता दिएको हो।

विदुर नगरपालिका वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष इन्द्रप्रसाद अधिकारीको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो। बाढीबाट परेको प्रभावका आधारमा लाभग्राहीलाई अति प्रभावित र प्रभावित गरी दुई वर्गमा विभाजन गरेर राहत वितरण गरिएको थियो।

अति प्रभावित परिवार तथा व्यक्तिलाई प्रतिव्यक्ति २५ किलो चामल, २ किलो दाल, २ किलो चिउरा, १ लिटर खानेतेल, १ किलो नुन र १ वटा साबुन प्रदान गरिएको थियो।

त्यस्तै, प्रभावित परिवार तथा व्यक्तिलाई प्रतिव्यक्ति १२ दशमलव ५ किलो चामल, १ किलो दाल, १ किलो चिउरा, आधा लिटर खानेतेल, १ किलो नुन र आधा वटा साबुन उपलब्ध गराइएको थियो।

राहत वितरणका क्रममा संस्थाले कुल १०० बोरा चामल, २०० किलो दाल, १०० लिटर खानेतेल, २०० किलो चिउरा, १५० किलो नुन र १०० वटा साबुन वितरण गरेको जनाएको छ।

राहत वितरणका लागि संस्थाको केन्द्रीय कार्यालयका प्रबन्धक सुमन श्रेष्ठ, ठिमी क्षेत्रीय कार्यालयका प्रबन्धक लक्ष्मण बस्नेत, विदुर शाखा कार्यालयका प्रबन्धक प्रमोदकुमार सिग्देल र विदुर शाखाका सहायक पुष्पराज अधिकारी स्थलगत रूपमा सहभागी भएका थिए।

भोटेकोसी बाढीबाट सडक तथा भौतिक संरचनामा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धार पुर्‍याउन कठिनाइ भइरहेको अवस्थामा संस्थाले आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो।

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार