रिलायबल नेपाल लाइफमा सर्वसाधारणको हिस्सा बढ्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको सेयर संरचनामा सर्वसाधारण सेयरधनीको हिस्सा बढाउने भएको छ। कम्पनीले संस्थापक सेयरधनीको हिस्सा घटाएर सर्वसाधारणको सेयर स्वामित्व बढाउने तयारी गरेको हो।

हाल कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत रहेको छ। अब संस्थापकतर्फको सेयर हिस्सा ५१ प्रतिशतमा सीमित गरी सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्‍याउने कम्पनीको योजना छ।

कम्पनीको सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको हिस्सा बढाएर ४९ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ। उक्त निर्णय कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिइनेछ।

प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आगामी वार्षिक साधारणसभामा सेयर संरचना परिवर्तनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको छ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि संस्थापक र सर्वसाधारण सेयरधनीबीचको स्वामित्व संरचना परिवर्तन हुनेछ।

हाल रिलायबल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। सेयर संरचनामा प्रस्तावित परिवर्तनसँगै कम्पनीमा सर्वसाधारण सेयरधनीको सहभागिता थप विस्तार हुने अपेक्षा गरिएको छ।