सिटिजन लाइफमा सर्वसाधारणको हिस्सा बढ्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीले संस्थापक सेयरधनीको हिस्सा घटाउँदै सर्वसाधारण सेयरधनीको हिस्सा बढाउने भएको हो।

कम्पनीको सञ्चालक समितिले संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशत कायम गर्ने निर्णय गरेको छ। हाल कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत रहेको छ।

प्रस्तावित व्यवस्था कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणको स्वीकृति आवश्यक पर्नेछ। प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि सेयर स्वामित्व संरचना परिवर्तनसम्बन्धी प्रस्ताव कम्पनीको आगामी साधारणसभामा पेस गरिनेछ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि कम्पनीको सेयर स्वामित्व संरचनामा परिवर्तन हुनेछ। यससँगै कम्पनीमा सर्वसाधारण सेयरधनीको हिस्सा हालको ३० प्रतिशतबाट बढेर ४० प्रतिशत पुग्नेछ भने संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशतबाट घटेर ६० प्रतिशतमा कायम हुनेछ।

सिटिजन लाइफ इन्स्योरेन्सको हालको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। सेयर स्वामित्व संरचनामा हुने प्रस्तावित परिवर्तनले कम्पनीमा सर्वसाधारण सेयरधनीको सहभागिता थप बढ्नेछ।