काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । सो अवसरमा राजदूत तोरुले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित नागरिकप्रति समवेदना प्रकट गरे ।
उनले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा जापान सरकारले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्धका विभिन्न आयाम तथा दुई देशबीच भइरहेको सहकार्यका विषयमा समेत छलफल भएको थियो ।
