नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिनबहादुर बोहरा नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिनबहादुर बोहरा नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भएको छ।

यसअघि सीईओ रहेका केशवकुमार पौडेलले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेपछि रिक्त पदमा बोहरालाई जिम्मेवारी दिइएको हो।

लघुवित्त तथा बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बोहराले कालिका लघुवित्त र धौलागिरी लघुवित्तमा सीईओ तथा नेपाल एग्रो लघुवित्तमा कायममुकायम सीईओका रूपमा काम गरिसकेका छन्। उनले नेरुडे मिर्मिरेमै नायब कार्यकारी प्रमुख तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा कायममुकायम सीईओ र कम्पनी सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

उनको व्यावसायिक यात्रा ग्रामीण विकास बैंकबाट सुरु भएको थियो। त्यहाँ उनले शाखा प्रबन्धक तथा अनुगमन तथा मूल्यांकन विभागमा जिम्मेवारी सम्हालेका थिए।