भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया उपक्षेत्रीय छनोटको तयारीका क्रममा पोखरामा ४ खेल खेल्ने भएको छ।

गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार भुटानी राष्ट्रिय टोलीले यही असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ भने असोज १४ र १५ गते नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

क्यान गण्डकीले २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवसकै दिन पोखरामा हुने भुटान र क्यान गण्डकीबिचको खेलले पोखराको क्रिकेट विकास, खेल पर्यटन प्रवर्द्धन तथा पोखरालाई अन्तर्राष्ट्रिय जगत्‌मा चिनाउने अपेक्षा राखेको छ।

गण्डकी प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्कीले यो प्रतियोगिताले पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानलाई सघाउने तथा क्रिकेट पूर्वाधार निर्माण,खेल अनि पर्यटनबिच सम्बन्ध बलियो बनाउने बताएका छन्।

उनले यो अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन पर्यटन व्यवसायी तथा निजी क्षेत्रको सहयोग मिल्ने विश्वास जाहेर गरेका छन्।