काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम पालना नगर्ने ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ।
केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका चारवटा लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ। त्यस्तै, अनिवार्य नगद मौज्दात कायम नगर्ने दुईवटा लघुवित्तलाई नगद जरिवाना गरिएको छ।
पुँजीकोष नपुगेका चार लघुवित्त
न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेपछि कारबाहीमा पर्ने लघुवित्तमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा फरवार्ड लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव १२ प्रतिशत रहेको थियो। त्यस्तै, धौलागिरी लघुवित्तको ६ दशमलव ३८ प्रतिशत, मातृभूमि लघुवित्तको ४ दशमलव ०८ प्रतिशत र एनआईसी लघुवित्तको ६ दशमलव ३९ प्रतिशत रहेको थियो।
तोकिएको नियामकीय मापदण्डअनुसार न्यूनतम पुँजीकोष अनुपात कायम नभएपछि यी संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
अनिवार्य नगद मौज्दात नराख्ने दुई संस्था
केन्द्रीय बैंकले तोकिएको समयमा अनिवार्य नगद मौज्दात कायम नगर्ने दुई लघुवित्तलाई पनि नगद जरिवाना गरेको छ। वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, बनेपा, काभ्रेपलाञ्चोकलाई २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेका कारण पहिलो पटकका लागि नगद जरिवाना गरिएको छ।
त्यस्तै, सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङले २०८२ चैतदेखि २०८३ असारसम्म विभिन्न महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।
सञ्जीवनी लघुवित्तलाई अनिवार्य नगद मौज्दातसम्बन्धी व्यवस्था पालना नगरेकोमा पहिलो, दोस्रो, तेस्रो र चौथो पटक गरी जरिवाना गरिएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ।
राष्ट्र बैंकले वित्तीय अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा लघुवित्त वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउन नियमित सुपरिवेक्षण र नियम उल्लङ्घन गर्ने संस्थामाथि आवश्यक कारबाही गर्दै आएको जनाएको छ।
