काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाली सेयर बजारमा अन्तरदिवसीय कारोबार सुरु गर्ने तयारी अघि बढाएको छ। बजारमा तरलता बढाउने, मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने तथा आधुनिक पूँजी बजार पूर्वाधार विकास गर्ने उद्देश्यले बोर्डले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको हो।
बोर्डले २४ सेप्टेम्बर २०२६ अर्थात् ८ असोज २०८३ मा अवधारणापत्र सार्वजनिक गर्दै लगानीकर्ता तथा सम्बन्धित सरोकारवालाबाट राय, सुझाव र सुधारका क्षेत्र पहिचान गर्न सार्वजनिक परामर्श प्रक्रिया अघि बढाएको छ। अवधारणापत्र नेपाल सरकार, अर्थ मन्त्रालयबाट २९ भदौ २०८३ मा जारी ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीतिमा उल्लेखित मार्जिन ऋण कारोबार र अन्तरदिवसीय कारोबारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यअनुसार तयार गरिएको हो।
प्रस्तावित व्यवस्थाअनुसार अन्तरदिवसीय कारोबारलाई एकैपटक पूर्ण रूपमा लागू नगरी बजारको वर्तमान संरचना, संस्थागत क्षमता र जोखिम व्यवस्थापनको अवस्थालाई ध्यानमा राखेर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने अवधारणा अघि सारिएको छ।
सुरुआती चरणमा ‘बाइ फर्स्ट, सेल लेटर’ अर्थात् पहिले धितोपत्र खरिद गर्ने र सोही दिन बिक्री गर्ने कारोबार प्रणाली लागू गर्ने प्रस्ताव गरिएको छ। त्यसपछि धितोपत्र उधारो तथा सापटी कारोबार र कभर गरिएको सर्ट सेलिङका लागि आवश्यक पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्रै ‘सेल फर्स्ट, बाइ लेटर’ अर्थात् पहिले बिक्री गरेर पछि खरिद गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ।
बोर्डले प्रारम्भिक चरणमा नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउन सकिने जनाएको छ। परीक्षण चरणबाट प्राप्त अनुभव र जोखिम मूल्यांकनका आधारमा योग्य धितोपत्रको दायरा क्रमशः विस्तार गर्ने अवधारणा छ।
अन्तरदिवसीय कारोबार सुरु गर्नुअघि आवश्यक कानुनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रका मापदण्ड, योग्य लगानीकर्तासम्बन्धी व्यवस्था, ब्रोकरको कार्यविधि, जोखिम खुलासा, मार्जिन तथा जोखिम व्यवस्थापन प्रणाली, बजार निगरानी र प्रविधिगत पूर्वाधार तयार गर्ने प्रस्ताव गरिएको छ।
त्यसपछि परीक्षण, पाइलट सञ्चालन र तयारीको मूल्यांकन गर्दै चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने अवधारणा बोर्डले अघि सारेको छ। लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा निगरानी र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाइएको छ।
अवधारणापत्र तयार गर्ने क्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समन्वय तथा सहजीकरण समितिमा छलफल गरिएको थियो। समितिले आवश्यक अध्ययन गरेपछि अवधारणापत्र तयार गरेको बोर्डले जनाएको छ।
यसैबीच, बोर्डले मार्जिन ऋण कारोबारसम्बन्धी नियमावलीको मस्यौदालाई प्राप्त सुझाव समेटेर अन्तिम रूप दिने कार्य भइरहेको जनाएको छ। मार्जिन ऋण, अन्तरदिवसीय कारोबार, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङजस्ता नयाँ बजार उपकरणसम्बन्धी व्यवस्था अघि बढाउने क्रममा बोर्डले विभिन्न अवधारणापत्र तथा नीतिगत दस्तावेज सार्वजनिक गर्दै आएको छ।
अन्तरदिवसीय कारोबारसम्बन्धी अवधारणापत्र सार्वजनिक भएसँगै नेपालमा दोस्रो बजारलाई थप आधुनिक, प्रविधिमैत्री र व्यवस्थित बनाउने दिशामा नीतिगत तयारी अघि बढेको छ। अब सरोकारवालाबाट प्राप्त सुझावका आधारमा प्रस्तावित व्यवस्था परिमार्जन तथा कार्यान्वयनको तयारी अघि बढ्नेछ।
