मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासल क्षेत्र बढी प्रभावित देखिएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडि पानीको बहाव बढेको छ ।
लगातारको वर्षाका कारण मनोहरा खोला र वागमती नदीमा पानीको सतह बढ्दै गएको हो। पानी खोलाको किनारा नाघ्ने अवस्थामा पुगेको छ । वर्षा अझै नरोकिएकाले पानीको बहाव थप बढ्दै गएको छ।
बाढीको पानी बढेसँगै च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयसमेत डुबानको जोखिममा परेको छ । गत वर्ष पनि मनोहरा खोलामा आएको बाढी पार्टी केन्द्रीय कार्यालय परिसरमा पस्दा कार्यालय डुबानमा परेको थियो ।
वर्षा निरन्तर भइरहेकाले च्यासल क्षेत्रका बासिन्दा तथा आसपासका संरचनामा समेत बाढीको जोखिम बढेको छ । सुरक्षा निकायले तटीय क्षेत्रमा माइकिङ गरेर सचेत रहन आग्रह गरेको छ ।
