निरन्तरको वर्षाले नारायणी नदीको बहाव बढेर वस्तीमा पसेपछि नवलपुरको तटीय क्षेत्र जलमग्न भएको छ । कावासोती–१७ अमलटारी र गैँडाकोट–२ को बोटे बस्तीमा नारायणी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बोटेटोलबाट १८ घरपरिवारका एक सय १४ जनालाई प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा स्थानान्तरण गरिएको छ ।
उनीहरुलाई आफन्तहरुको घरमा स्थानान्तरण गरिएको खड्काले बताउनुभयो । हालसम्म मानवीय क्षेती भने भएको छैन ।

त्यस्तै, कावासोती–१७ अमलटारी पनि नारायणी नदीको चपेटामा परेको छ । त्यहाँका वासिन्दाले बस्तुभाउ अन्यत्रै स्थानान्तरण गरेको र परिवार तथा सरसामान भने घरको छत र माथिल्लो तलामा राखेर जोगाइरहेको खड्काले जानकारी दिए ।
अहिलेसम्म त्यहाँका वासिन्दालाई स्थानान्तरण गर्न नपरेको भए पनि बहाव बढ्दै जाँदा जोखिम पनि बढ्दै जाने आँकलन गरिएको उनले उल्लेख गरे ।
यस क्षेत्रमा निरन्तर पानी परिरहेकाले जोखिम पनि बढिरहेको छ । देवघाट जनपामन केन्द्रका अनुसार नारायणी नदीको बहाव खतराको तह नजिक पुगेको छ ।
पौने ४ बजेसम्मको तथ्यांकअनुसार नारायणीको बहाव ८.९४ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।
