गाजा युद्ध-७४ हजारभन्दा बढी मा प्यालेस्टिनीको मृत्यु

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबिच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टिनी मृतकको संख्या ७४ हजार नाघेको छ।

गत अक्टोबर १० देखि लागु युद्धविरामले भीषण लडाइँ रोकेको भए पनि इजरायली सेनाले सम्भावित खतरा वा आक्रमणको जवाफस्वरूप भन्दै आफ्ना सैन्य कारबाही जारी राखेको बीबीसीले जनाएको छ ।

गाजा युद्धविराम प्रक्रिया अझै ठप्प गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार युद्धमा हालसम्म ७४ हजार १६ प्यालेस्टिनीको मृत्यु भएको छ भने १ लाख ७५ हजार ६८ जना घाइते भएका छन्।

यो युद्ध सन् २०२३ को अक्टोबर ७ मा हमास नेतृत्वका लडाकुहरूले इजरायलमा आक्रमण गरेपछि सुरु भएको थियो। उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

हमास नेतृत्वको सरकारअन्तर्गत रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार युद्धविराम लागुयता थप १ हजार १४५ प्यालेस्टिनी मारिएका छन्। मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकलाई संयुक्त राष्ट्र संघका निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूले सामान्यतः विश्वसनीय मान्ने गरेका छन्। यद्यपि मन्त्रालयले सर्वसाधारण र लडाकुबिच छुट्टै विवरण सार्वजनिक गर्दैन।

मन्त्रालयका अनुसार कुल मृतकमध्ये करिब आधा महिला र बालबालिका छन्। युद्धविरामपछि सात जना इजरायली सैनिकको पनि मृत्यु भएको छ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामका अन्य पक्ष भने अझै कार्यान्वयन हुन सकेका छैनन्। इजरायली सेनाले हाल पनि प्यालेस्टिनी भूभागको आधाभन्दा बढी क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ।

हमासले हतियार त्यागेको छैन, नयाँ प्यालेस्टिनी सरकार गठन हुन सकेको छैन र पुनर्निर्माणको कामसमेत सुरु भएको छैन।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले हतियार नबुझाएसम्म इजरायली सेना पछि नहट्ने बताएका छन्।

नेतान्याहुलाई हराउन विपक्षीबिच सहकार्य

इजरायलका प्रमुख यहुदी विपक्षी दलहरूले शनिबार साँझ जारी गरेको संयुक्त विज्ञप्तिमार्फत अर्को महिना हुने निर्णायक निर्वाचनमा प्रधानमन्त्री नेतन्याहुको गठबन्धनलाई हराउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आन्तरिक विवादका कारण यी दलहरू यसअघि आलोचित थिए। सन् २०२३ को अक्टोबर ७ को आक्रमणपछि हुन लागेको पहिलो निर्वाचनलाई उक्त आक्रमण हुनुका सुरक्षा कमजोरीप्रतिको जनमतका रूपमा व्यापक रूपमा हेरिएको बीबीसीले जनाएको छ ।

बैठकमा नेतान्याहुका प्रमुख चुनौतीकर्ता मानिएका पूर्वसैन्य प्रमुख गादी आइजेनकोट, संयुक्त रूपमा चुनाव लडिरहेका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट र याइर लापिड, मध्य(वामपन्थी दलका नेता याइर गोलान तथा कडा अडान राख्ने विपक्षी नेता एभिग्डोर लिबरम्यान सहभागी थिए।

उनीहरूले मतदाता सहभागिता बढाउने, भ्रामक समाचार र चरित्रहत्या गर्ने अभियानको सामना गर्ने तथा आगामी सरकारका आधारभूत नीति र सिद्धान्त तय गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

‘निर्वाचन राज्यको भविष्यका लागि अत्यन्त महत्वपूर्ण छ भन्ने हामी स्वीकार गर्छौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ।