पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाइ प्रकरणले प्रतिनिधिसभामा प्रवेश पाएको छ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले जबराको पक्राउलाई राज्य आतंक र केटाकेटी खेलको संज्ञा दिँदै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
सदनमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर सरकारले राज्य आतंक र बर्बर नमुना प्रस्तुत गरेको आरोप लगाए ।
महरले भने, ‘पूर्वप्रधानमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा डाका शैलीमा पक्राउ गर्ने काम भइरहेको छ। यो विधिको शासन हो कि निरंकुशता ?’ उनले जेन्जी पुस्ताको काँधमा टेकेर सरकारले आफ्ना गैरकानूनी क्रियाकलापलाई ढाकछोप गर्ने प्रयास गरिरहेकोसमेत दाबी गरे ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यशैलीलाई दादागिरी र पागलपनको संज्ञा दिए ।
‘बिना पक्राउ पुर्जी, बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छोड्ने ? यो कुन प्रकारको कानुनी राज्य हो ?’ भनी प्रश्न गर्दै उनले सरकारलाई यस्तो राजनीतिक स्टन्ट बन्द गर्न चेतावनी दिए ।
उनले थपे, ‘मध्यरातमा जोस र दिउँसो होस हराउने सरकारको कार्यशैलीले जनतालाई निराश बनाएको छ।’
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशको पक्राउ र रिहाइलाई केटाकेटी खेलको संज्ञा दिए । उनले भने, ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने रु यो पक्राउ हो कि नौटङ्की हो ?
सरकारले यस्ता गम्भीर विषयमा नौटङ्की गर्न छोड्नुपर्छ।’ राईले राज्य संयन्त्रले पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए ।
उनले भने, ‘हामी कानून मान्छौँ, तर कानूनको आडमा गरिने ‘डार्क’ राजनीति हामीलाई स्वीकार्य छैन।’
उनले मुलुकमा बाढी-पहिरोको वितण्डा चलिरहँदा राहत र उद्धारमा लाग्नुपर्ने सरकार विपक्षीलाई तर्साउन र संवैधानिक व्यक्तित्वहरूलाई अपमानित गर्न केन्द्रित भएको बताए ।
