जगदम्बा मोटर्स प्रालिले बुटवलमा अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्स सम्पन्न गरेको छ। तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित प्रतियोगितामा बुटवल क्षेत्रका मोटरसाइकल राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरको उत्साहजनक सहभागिता रहेको थियो।
टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवल क्षेत्रका आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो। प्रतियोगितामा सहभागीको संख्या बढ्दै गएपछि ७६ जनाको दर्तापछि आवेदन बन्द गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी राइडरलाई पूर्व ARE GP नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र चारपटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, ब्रेकिङ, लिनिङ तथा भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो।
प्रशिक्षणपछि भएको १६० सीसी वर्गको प्रतिस्पर्धामा धीरज बि।क। ३४।०७ सेकेन्डमा विजेता बने। अभिषेक पन्थी ३४।६२ सेकेन्डसहित प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४।८७ सेकेन्डसहित द्वितीय उपविजेता बने।
यी तीनै राइडरले अब ARE GP ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्। ग्रान्ड फिनालेमा काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय छनोटबाट आएका उत्कृष्ट राइडरसँग उनीहरूको प्रतिस्पर्धा हुनेछ।
जगदम्बा मोटर्सका अनुसार ग्रान्ड फिनालेको १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। उक्त प्रतियोगितामा विभिन्न देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसरसमेत प्राप्त हुनेछ। यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले व्यहोर्ने जनाइएको छ।
बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा ७६ जना राइडरको सहभागिताले मोटरस्पोर्ट्सप्रतिको बढ्दो आकर्षण देखाएको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नयाँ प्रतिभा पहिचान गर्न कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गरे।
जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोर्ट्सको विकास र नयाँ राइडरलाई अवसर प्रदान गर्ने उद्देश्यले ब्च्भ् कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत ट्र्याक प्रशिक्षण, पाँच क्षेत्रीय रेसिङ क्वालिफायर्स र राष्ट्रिय ग्रान्ड फिनाले आयोजना हुने जनाइएको छ।
कम्पनीका अनुसार यस्ता कार्यक्रमले सुरक्षित र व्यवस्थित राइडिङ संस्कृतिको विकाससँगै नेपाली राइडरलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्समा अघि बढ्ने अवसर प्रदान गर्नेछ।
