एकैदिन रिलिज भएका ‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’ मध्ये सबैभन्दा धेरै कमाउने कुन ?

  • Clock icon
    २०८३ आश्विन २०, मंगलवार

गत असोज ९ गते शुक्रबार प्रदर्शनमा एकैपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आए ,‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार यीमध्ये ‘बाः एक योद्धा’ले कमाइमा अग्रता लिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ले अहिलेसम्ममा १ करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो चलचित्रलाई सो अवधिमा ६५ हजार ५६० दर्शकले हेरेका छन्।

अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको ‘आचार्य’ ले पनि बक्स अफिसमा डेढ करोडको आँकडा पार गरेको छ। चलचित्रले १० दिनमा एक करोड ५६ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दा ५४ हजार १०६ दर्शक हलसम्म पुगेका छन्। फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, प्रमोद अग्रहरिलगायत कलाकारको अभिनय छ।

यता अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ को व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। फिल्मले १३ लाख ९८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ३ हजार ८६७ दर्शकले फिल्म हेरेका छन्।

यसरी एउटै मितिमा प्रदर्शनमा आएका तीन फिल्ममध्ये हालसम्म ‘बाः एक योद्धा’ले दर्शक र कमाइ दुवैमा बाजी मारेको बोर्डको तथ्यांकले देखाएको छ।