बूढीगण्डकी बाढी : आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बग्यो

गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाएको छ।

यस्तै, बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति गरेको छ । बाढीले केरौँजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि आज बिहान बुढीगण्डकी नदीमा बाढी आएको हो ।

थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीहरूमा ठूलो क्षति गरेको छ । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।