बाढी प्रभावितका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान, मर्मतमा १०० प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ नेपालले हालैको बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विशेष मर्मत सेवा अभियान सञ्चालनमा ल्याएको छ । बाढीका कारण क्षति पुगेका मोबाइल फोन, ट्याब्लेट तथा घरायसी विद्युतीय उपकरणको मर्मत खर्च घटाउँदै प्रभावित परिवारलाई दैनिक जीवनमा फर्कन सहयोग गर्ने उद्देश्यले कम्पनीले यस्तो अभियान ल्याएको हो ।

अक्टोबर २ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत सामसङले नारायणघाट सर्भिस सेन्टर र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरबाट विशेष मर्मत सेवा उपलब्ध गराइरहेको छ । घरायसी उपकरणका लागि घरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायत छनोट गरिएका सामसङका उपकरणको मर्मत तथा आवश्यकताअनुसार नयाँ उपकरण साट्ने सुविधामा छुट उपलब्ध हुनेछ । उपकरणको उमेर र वारेन्टीको अवस्थाका आधारमा मर्मत तथा नयाँ उपकरण प्रतिस्थापनमा १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार वारेन्टी अवधिभित्र रहेका योग्य उपकरणमा मर्मत तथा प्रतिस्थापन दुवैमा शतप्रतिशत छुट उपलब्ध हुनेछ । एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशत तथा दुईदेखि पाँच वर्षभन्दा पुराना योग्य घरायसी उपकरणमा ७० प्रतिशतसम्म छुट दिइनेछ । मोबाइल उपकरणतर्फ भने दुईदेखि चार वर्ष पुराना योग्य स्मार्टफोन तथा ट्याब्लेटमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी लागत लाग्ने अवस्था भएमा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विकल्पमा समेत विचार गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा आसपासका जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत जिल्लाका प्रभावित ग्राहकले यसबाट लाभ लिन सक्नेछन् ।

बाढीबाट क्षति पुगेका विद्युतीय उपकरण पुनः सञ्चालनमा ल्याउन आर्थिक सहयोग पुर्‍याउने र नयाँ उपकरण खरिद गर्नुपर्ने अवस्थामा पर्ने भार कम गर्ने अभियानको उद्देश्य रहेको सामसङ नेपालले जनाएको छ । विशेष सेवा केन्द्रमार्फत प्रभावित ग्राहकलाई सहज रूपमा मर्मत सेवा उपलब्ध गराउने कम्पनीको योजना छ ।