सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय प्राध्यापक रोबर्ट ई.हल र माइकल वुडफोर्डलाई प्रदान गरिएको छ।
सन् १९४३ मा जन्मिएका ८३ वर्षीय प्रोफेसर हल अहिले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा प्राध्यापक छन्। यस्तै, सन् १९५५ मा जन्मिएका ७१ वर्षीय प्रोफेसर वुडफोर्ड अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक छन्। उनी आधुनिक न्यू केन्सियन म्याक्रोइकोनोमीका प्रमुख संस्थापकहरूमध्ये एक मानिन्छन्। उनको सिद्धान्तले विश्वभरका केन्द्रीय बैंकहरूको मौद्रिक नीति सञ्चालन गर्ने तरिकामा व्यापक परिवर्तन ल्याएको छ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सले उनीहरुलाई बृहत् अर्थशास्त्रीय स्थायित्वका सुक्ष्म अर्थशास्त्रीय आधारहरू सम्बन्धी अध्ययन र विश्लेषणका लागि पुरस्कार प्रदान गरेको हो। यी दुई अर्थशास्त्रीहरूले आर्थिक मन्दी र मुद्रास्फीति जस्ता अर्थतन्त्रका ठूला उतारचढावलाई नियन्त्रण गर्न व्यक्ति, परिवार र व्यावसायिक फर्महरूको व्यवहारलाई कसरी नीतिगत ढाँचामा ढाल्नुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए।
रोबर्ट हल र माइकल वुडफोर्डले फरक–फरक दशकमा प्रतिपादन गरेका सिद्धान्तहरूले आधुनिक बृहत् अर्थशास्त्रलाई नयाँ उचाइमा पुर्याएको छ। प्राध्यापक हलले मुख्य रूपमा सन् १९७८ मा आफ्नो चर्चित शोधपत्रमार्फत उपभोगको र्यान्डम वाक मोडल प्रतिपादन गरेका थिए।
परम्परागत बृहत् अर्थशास्त्रमा मानिसले आफ्नो वर्तमान आम्दानीको आधारमा खर्च गर्छ भन्ने मानिन्थ्यो। तर हलले र्यासनल एक्स्पेक्टेसन्स हाइपोथेसिसलाई उपभोगमा जोड्दै मानिसहरूले आफ्नो जीवनभर पाउने अनुमानित स्थायी आम्दानीका आधारमा वर्तमान खर्च वा बचत निर्धारण गर्छन् भन्ने नयाँ तथ्य पत्ता लगाएका थिए। यदि बजारमा कुनै अप्रत्याशित वा नयाँ सूचना आएन भने मानिसहरूको उपभोग ढाँचा समान स्तरमा र सन्तुलित तवरबाट अघि बढ्छ। त्यसैले उपभोगमा हुने परिवर्तन भविष्यको अप्रत्याशित सूचनामा मात्र निर्भर हुने भएकाले यो र्याण्डम प्रकृतिको हुन्छ।
अर्कोतर्फ माइकल वुडफोर्डले विशेषगरी सन् १९९० को दशक र सन् २००३ मा प्रकाशित “क्ष्लतभचभकत बलम एचष्अभकस् ँयगलमबतष्यलक या ब त्जभयचथ या ःयलभतबचथ एयष्अिथ” मार्फत आधुनिक मौद्रिक नीतिको नयाँ गणितीय र सुक्ष्म अर्थशास्त्रीय आधार प्रतिपादन गरेका थिए।
वुडफोर्डले परम्परागत मौद्रिक नीतिको मुद्रा आपूर्ति मापन गर्ने तरिकालाई विस्थापित गर्दै केन्द्रीय बैंकहरूले ब्याजदरलाई नीतिको मुख्य हतियार बनाउनुपर्छ भन्ने गणितीय मोडल अघि सारेका थिए। वुडफोर्डले केन्द्रीय बैंकले आज तोकेको अल्पकालीन ब्याजदरभन्दा पनि भविष्यमा ब्याजदर कतातर्फ लैजानेछ भन्ने पूर्वसूचना वा मार्गदर्शनले लगानीकर्ता, बैंक र उपभोक्ताको निर्णयलाई बढी प्रभावित पार्ने कुरालाई पुष्टी गरेका थिए।
उनले मूल्य वृद्धि नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले कसरी स्पष्ट र पारदर्शी लक्ष्य राखेर जनताको अपेक्षालाई मार्गदर्शन गर्नुपर्छ भन्ने सिद्धान्त विकसित गरेका थिए।
