प्रधानमन्त्री बालेन्द्र शाह-बालेन आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भ्रमणको मितिबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न भने बाँकी छ।
यसअघि भारतीय सञ्चारमाध्यमहरूले नोभेम्बर २३ देखि २५ सम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेका थिए।
भारतीय सञ्चारमाध्यम आजतकले नोभेम्बर २३ देखि २५ सम्म शाहको भारत भ्रमण प्रस्ताव गरिएको उल्लेख गरेको थियो।
आजतकका अनुसार प्रस्तावित भ्रमणमा दुई देशबीच रेल तथा अन्य यातायात सम्पर्क विस्तार, ऊर्जा, व्यापार, पूर्वाधार विकास र बाढीपछिको पुनर्निर्माणका विषयले प्राथमिकता पाउने सम्भावना छ।
विशेष गरी रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग र जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा थप प्रगति हुन सक्ने आजतकले उल्लेख गरेको छ।
ऊर्जातर्फ ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजना पनि द्विपक्षीय छलफलका महत्त्वपूर्ण विषय हुन सक्ने जनाइएको छ। यी दुवै आयोजनाको विकासमा भारतको सरकारी कम्पनी एनएचपिसी संलग्न छ।
त्यस्तै, दोधारा–चाँदनी एकीकृत जाँच चौकी, महाकाली नदीमा मोटरेबल पुल र भैरहवा एकीकृत जाँच चौकी लगायत सीमा पूर्वाधारका विषय पनि भ्रमणको सम्भावित कार्यसूचीमा रहेको आजतकले जनाएको छ।
भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतीय सहयोगको विशेष प्याकेजबारे समेत छलफल हुन सक्ने उक्त समाचारमा उल्लेख छ।
यद्यपि यी परियोजनामा सम्झौता हुने वा सहयोगको घोषणा गरिने विषयमा औपचारिक पुष्टि भइसकेको छैन।
प्रधानमन्त्री शाहलाई भारतले गत जुलाईमै औपचारिक भ्रमणको निमन्त्रणा दिएको थियो। त्यसपछि दुई देशबीच भ्रमणको मिति र कार्यसूचीका विषयमा छलफल हुँदै आएको स्रोतले जानकारी दियो।
गत असोज २३ गते परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि गृहकार्य भइरहेको तर मिति निश्चित भइनसकेको जनाएको थियो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल र भारत दुवैलाई अनुकूल हुने समयमा भ्रमण हुने बताएका थिए।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमण क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। ती भेटमा आर्थिक सहकार्य, ऊर्जा र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको भ्रमण गरेका थिए। त्यसैले भारत भ्रमण प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश यात्रा नभए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता र दुई देशबीच हुन सक्ने सम्झौताका विषयमा भने अझै औपचारिक विवरण सार्वजनिक भएको छैन।
यस भ्रमणमा प्रधानमन्त्री बालेनले कुटनीति सम्बन्धलाई बलियो पार्न सक्नुपर्छ ।
